आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकाले ६ माग पूरा नगरेसम्म होर्मुज नखोल्ने इरानको अडान

अमेरिकाले ६ माग पूरा नगरेसम्म होर्मुज नखोल्ने इरानको अडान

 |  आइतबार, साउन २४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०८३

काठमाडौं- इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोलगाद्रले अमेरिकाले इरानका ६ वटा माग पूरा नगरेसम्म होर्मुज जलडमरूमध्य नखोलिने बताएका छन्।

जोलगाद्रले अघि सारेका मागमा इरानमाथि लगाइएका प्रतिबन्धमा खुकुलोपन, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति, इरानी बन्दरगाहमा लगाइएको नौसैनिक नाकाबन्दी तत्काल हटाउनुपर्ने, इरानविरुद्धका धम्की रोक्नुपर्ने र विदेशमा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्नेलगायत विषय छन्।

विश्लेषकहरूका अनुसार जोलगाद्रले यसअघि इरानले राख्दै आएका मागलाई नै दोहोर्याएका छन्। तर, पछिल्लो अभिव्यक्तिले होर्मुज जलडमरूमध्यको विषयमा वार्ताका क्रममा इरानले कडा अडान लिएको संकेत गरेको छ।

यो अभिव्यक्ति इरान र ओमानबीच होर्मुज जलडमरूमध्यमार्फत पानीजहाज आवतजावतका लागि नयाँ व्यवस्था गर्ने विषयमा भएको पछिल्लो वार्तालाई दुवै पक्षले ‘सकारात्मक र रचनात्मक’ भनेका बेला आएको हो।

इरानी विदेशमन्त्री अब्बास अराघ्चीले ओमानसँगको वार्ता अन्तिम चरणमा पुगेको बताएका छन्। तर, उनले सम्झौता हुँदैमा होर्मुज जलडमरूमध्य तत्काल खुल्ने अवस्था नरहेको स्पष्ट पारेका छन्। उनका अनुसार जलमार्ग पुनः सञ्चालनका लागि अन्य सर्त पनि पूरा गर्नुपर्नेछ।

यसअघि समाचार संस्था रोयटर्सले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इरान र ओमानबीच होर्मुज जलडमरूमध्यका विषयमा भएको वार्तामा प्रगति भएको जनाएको थियो। अमेरिकाले पनि छिट्टै सम्झौता हुने अपेक्षा गरेको ती अधिकारीले बताएका थिए।

ती अमेरिकी अधिकारीका अनुसार होर्मुज जलडमरूमध्यमार्फत व्यावसायिक पानीजहाजलाई बिना अवरोध आवतजावत गर्न दिने सुनिश्चिततासहितको सम्झौता घोषणा भएपछि अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने अपेक्षा गरिएको छ।

होर्मुज जलडमरूमध्य विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हो। यस क्षेत्रमा उत्पन्न हुने अवरोधले विश्व बजारमा इन्धनको आपूर्ति र मूल्यमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले इरानको पछिल्लो अडानलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ।

प्रकाशित: Aug 09, 2026| 11:03 आइतबार, साउन २४, २०८३
प्रतिक्रिया दिनुहोस्