काठमाडौं– वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज अपराह्न ललितपुरमा सम्पन्न भएको छ। जाउलाखेलमा विशेष समारोहका बीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रथजात्रा औपचारिक रुपमा सम्पन्न भयो। भोटो जात्रा समारोहमा राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भई मच्छिन्द्रनाथको भोटो अवलोकन गरिन्।
राष्ट्रपति भण्डारीलाई नेपाली सेना, नेपाल प्रहरी र स्काउटको टोलीले सलामी अर्पण गरेको थियो। नेपाल सरकारका उच्चपदस्थ अधिकारी तथा हजारौँ सर्वसाधारणको सहभागिता थियो।
सो अवसरमा राष्ट्रपति भण्डारीले मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै पाटनकी जीवित देवी कुमारीको हातबाट टीका ग्रहण गरेकी थिइन्।
भोटो देखाउने क्रममा परम्परागत बाजा मच्छिन्द्रनाथको मृदङ्ग भजन र इन्द्र बाजा (काँ बाजा) बजाइएको थियो।
मच्छिन्द्रनाथको रथलाई जाउलाखेल पु-याएको चार दिनपछि भोटो देखाउने जात्रा हुने परम्परा छ । लगनखेलस्थित थटिटोलमा रहेको रथ तानेर बिहीबार जाउलाखेल पु-याइएको थियो। मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रुपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमा मानिने भएकाले पनि यसको पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व छ।
यसैबीच भोटोजात्रा सकिएपछि आजै मच्छिन्द्रनाथलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जाउलाखेलबाट बुङ्मतीको मन्दिरमा ६ महिनाका लागि विराजमान गराइने छ।
