भैरहवा : आपसी झगडाका कारण रुपन्देहीको देवदहमा एकजनाको मृत्यु भएको छ । रुपन्देही प्रहरीका अनुसार सँगै बसेर मदिरा सेवन गरेका साथीहरु एकआपसमा लड्दा देवदहका २८ वर्षीय सुमन थापालाई मराणासन्न हुने गरी कुटपिट गरेका थिए । थापाको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको हो ।
थापालाई कुटपिट गरेको अभियोगमा प्रहरीले लक्ष्मण थारु र रमेश थारुलाई नियन्त्रणमा लिएको छ । रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाका अनुसार सँगै बसेर मदिरा सेवन गरेकाहरु एकआपसमा झैझगडा गर्दा उक्त घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
देवदहमा केही वर्षयता चरणबद्ध हत्या र मारपिटका घटना भइरहेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देही र नवलपरासीको सीमा क्षेत्रमा पर्ने देवदहमा यसअघि तत्कालीन युवासंघका अध्यक्ष दुर्गा तिवारी, युवासंघकै बलु पौडैलको हत्या भएको थियो । हत्यामा संलग्न मुख्य अभियुक्त मनोज पुनको पनि सोही क्षेत्रमा प्रहरीले इन्काउन्टर गरेको थियो भने केही महिनाअगाडि तरुण दलका अनिस पुरीको पनि हत्या भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४