पोखरा- नेत्रविक्रम चन्द (विप्लव) समूहका कास्की जिल्ला सेक्रेटरी विवेक भण्डारी (आक्रोश) सहित १८ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ११ बाट उनीहरुलाई प्रहरीले घेरा हालेर पक्राउ गरेको हो । जिल्ला सदस्य तथा एरिया ईञ्जार्च सन्तोष परियार, विद्यार्थी संगठनका केन्द्रिय सदस्यहरु मिलन राई र काजी गुरुङ सहितका नेता कार्यकर्ता पक्राउ परेको विप्लव नेतृत्वको नेकपा स्रोतले जनाएको छ ।
स्थानीय आमा समुहको भवनमा बैठक बस्दै गर्दा प्रहरीले भवन घेराउ गरेको थियो । शनिबार अन्नपूर्ण गाउँपालिका–११ मा विप्लव नेतृत्वको नेकपाको विशेष बैठक छ भन्ने बारे कास्की प्रहरीले अघिल्लो दिनमै थाहा पाइसकेको थियो।
सोही सूचनाको आधारमा सिभिलमा प्रहरी परिचालन गरी निगरानी बढाएको थियो। नेकपाका कार्यकर्तालाई दिउँसो देखि नै घेरा बन्दी गरेको बताउने कास्की प्रहरीले साँझ ६ बजेतिर मात्रै १८ जनालाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।
पक्राउ परेकाहरूलाई शनिबार राति नै पोखरा ल्याइएको प्रहरीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रमुख कार्कीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४