जनकपुरधाम- नेपाल शिक्षक संघका संघीय अध्यक्ष राजेन्द्रराज पौडेलले गुणस्तरीय शिक्षाप्रति वर्तमान सरकारको भूमिका नकारात्मक देखिएको आरोप लगाएका छन्।
नेपाल शिक्षक संघ प्रदेश २ ले शनिबार जनकपुरमा आयोजना गरेको प्रथम प्रतिनिधिसभाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले सरकार कामभन्दा बढी नारामा सीमित भएको दाबी गरे। ‘सरकारले कुरा ठुलो गरेको छ, तर शिक्षा क्षेत्रलाई धारासायी बनाउने काम भएको छ,’ पौडेलले भने।
करोडौं खर्चेर उच्चस्तरीय शिक्षा आयोगले प्रतिवेदन तयार पारेपनि हालसम्म सार्वजनिक नभएको भन्दै पौडेलले तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गरे। नारा र बोलीमा सीमित सरकारको शिक्षाप्रतिको दृष्टिकोण उच्चस्तरको नदेखिएको उनको आरोप थियो।
‘नमूना बनाउनबारे शिक्षामन्त्रीज्यूले ठुलठला नारा दिएको सुन्छु’ उनले भने,‘नमूना घर बनाउनु भएको छ तर नमूना शिक्षा बनाउन सक्नु भएको जस्तो लागेको छैन्।’
अस्थायी शिक्षकहरुको समस्याप्रति आफूहरु गम्भीर रहेको र यसको तार्किक निक्र्यौल निस्कनुपर्ने आफूहरुको चाहना रहेको उनले बताए।
नेपाल शिक्षक संघ प्रदेश २ का अध्यक्ष मेघनाथ यादवले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको भूमिका शिक्षाप्रति उदासीन देखिएको आरोप लगाए। समतामूलक र पारदर्शी ढंगले शिक्षा क्षेत्रमा लगानी गर्न पटकपटक आग्रह गरेपनि मन्त्रालयलले कुनै सुनवाइ नगरेको उनको गुनासो थियो। शिक्षा क्षेत्रको लागि विनियोजन गरिएको बजेट रकमान्तर गरेर छोरा मेयर भएको नगरपालिकामा भौतिक निर्माणमा खर्च गरेर उपलब्धिमूलक शिक्षा हासिल गर्न नसकिने उनको भनाइ थियो।
नेपाल शिक्षक संघसँग आवद्ध प्रदेश २ का करिब पाँच सयको संख्यामा सहभागिता रहेको प्रतिनिधिसभाले सांगठनीक गतिविधिका साथै आगामी वर्षको कार्ययोजनासमेत निर्माण गर्ने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४