धनगढी– रामबहादुर चौधरीले हावाहुरीले भत्काएको घरको दिवाल त शनिवार चुनाइ गरे। तर, घरको छानो छाउन कर्कटपाता कहाबाट ल्याउने भन्ने चिन्ताले उनलाई सताएको छ।
धनगढी–१२ जुगेडास्थित हिम्मतपुर मुक्त कमैया शिविरका राम बहादुरको घरको छानो मात्र हैन बिहिबार बेलुकी आएको हावाहुरीले एकापट्टीको दिवाल पुरै भत्काएको थियो।
‘भत्केको दिवाल त पुरानै इट्टा प्रयोग गरेर छिमेकीको सहयोगमा चुनाई गरेँ, अब कर्कटपाता कसरी किनौं’, उनले दुखेसो पोखे, ‘छानोको पुरै कर्कटपाता उडाएर कता पुग्यो पत्तै भएन।’ दुई दिन रात खुल्ला आकासमुनी नै सुतेर बिताएको उनको परिवारले अझै कति दिन रात त्यसैगरी बिताउनुपर्ने हो एकिन छैन।
घर भत्किएको र छानो उडाएको बारे वडा कार्यालयमा निवेदन दिए पनि राहत मिल्ने होकी हैन उनलाई थाहा छैन। ‘तत्काल कर्कटपाता उपलब्ध गराइदिएको भए निकै आभारी हुने थिए’, उनले भने।
गाउँका अधिकांशको घरको छाना उडाएकाले छानो छाउन कर्कटपाता तत्काल उपलब्ध गराएको भए निकै राहात हुने पीडितहरु सुनाउछन्
हिम्मतपुरकै बिजय चौधरीलाई पनि चारकोठे घरको छाना कसरी छाउने भन्ने चिन्ताले सताएको छ। ‘हावाहुरीले छानो उडाएर कता लग्यो भेटिदै भेटिएन’, उनले भने, १३ जनाको परीवारको तीन दिनदेखि खुल्ला आकास मुनी बास छ।
गाउँका अधिकांशको घरको छाना उडाएकाले छानो छाउन कर्कटपाता तत्काल उपलब्ध गराएको भए निकै राहात हुने पीडितहरु सुनाउछन्। खुल्ला आकासमुनीको बाँस हुँदा लामखुट्टे, सर्प र मानिसकै पनि डर हुने गरेको शान्ति चौधरीले सुनाइन्। ‘एक त घरको पुरै छानो उडेर सरसामान, अन्नपात सबै भिजेको चिन्ता त्यसैमा खुल्ला आकासको बासले निन्द्रानै लाग्दैन’, शान्तिले भनिन्।
हावाहुरीले क्षति पुर्याएको ४८ घन्टा पुग्नै लाग्दासम्म पनि प्रभावितहुरको घरमा राहत लगेर कोही पुगेका छैनन्। स्थानीय, प्रदेश र संघीय गरी तीन वटै सरकार भए पनि प्रभावितहरुको जीवन कष्टकर बितिरहदा पनि तत्काल राहत उपलब्ध गराउन सरोकारवाला चिन्तित् नदेखिएको पीडितको गुनासो छ।
गोदावरी नगरपालिका धनचौडीका दिलराज भट्टराईले राहत त परै जावस अहिलेसम्म क्षतीको विवरण संकलनका लागिसमेत कोही नआएको गुनासो गरे। ‘क्षती संकलनका लागि पटक–पटक बोलाउँदासमेत कोही आएको छैन,’ उनले भने। अधिकांश घरको छानो नै उडाएकाले सरकारले तत्काल छानो छाउने व्यवस्था गरिदिन प्रभावितहरुको माग छ।
जिल्लामा राहत वितरणका लागि सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशीको अध्यक्षतामा जिल्ला विपद व्यवस्थापन समितिले उप–समिति गठन गरेको छ। तर, उप–समितिका अध्यक्ष जोशीले भने अहिलेसम्म रेडक्रसबाट आएको एक सय २० वटा त्रिपाल मात्रै वितरण गरिएको बताए। उनले अहिले पनि क्षतीको विवरण संकलन जारी भएकाले राहत वितरणमा केन्द्रित हुन नसकेको बताए।
यता तत्काल राहतको कार्यक्रम ल्याउने बताएको प्रदेश सरकारले अहिलेसम्म राहतको योजनासमेत ल्याउन सकेको छैन। २ प्रदेशमा हावाहुरीबाट क्षती हुँदा दोश्रो दिन नै मन्त्रिपरिषदको बैठक बोलाएर एक करोड राहत सहयोग गरेको प्रदेश सरकारले अहिले आफ्नै प्रदेशमा विपद् पर्दा पनि केहि गर्न नसकेको पीडितको आरोप छ।
हावाहुरीकै कारण ज्यान गुमाएका २ जनाका परिवारलाइसमेत अहिलेसम्म राहतको व्यवस्थापन भएको छैन।
धनगढी उप–महानगरपालिकाका प्रवत्ता सन्तोष मुडभरीले क्षतीको विवरण संकलन भइरहेको तर, राहत वितरण नभएको स्वीकार गरे। हावाहुरीले बिधुत सेवा प्रभावित भएपछि कैलाली कंचनपुरको समग्र जनजीवन प्रभावित बनेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४