काठमाडौं - काठमाडौं उपत्यकामा सवारी दुर्घटनाका कारण २२२ जनाको मृत्यु भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको हालसम्ममा २२२ जनाको मृत्यु भएको हो। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म २११ र जेठ महीनामा मात्र ११ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन्। मृत्यु हुनेमा १७७ पुरुष र ४५ महिला रहेका छन्।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले तीव्र गति र चालकको लापरवाहीका सवारी दुर्घटनामा धेरै मानिसको ज्यान जाने गरको बताए। “फराकिलो बाटो र तीव्र गतिका कारण धेरै मानिसको सवारी दुर्घटनामा ज्यान गएको छ,” उनले भने।
सवारी दुर्घटनामा ज्यान गएकामध्ये अधिकांश मोटरसाइकलमा सवार रहेको महाशाखाले जनाएको छ। चालू आर्थिक वर्षमा मोटरसाइकल तथा स्कुटर ९९, पैदलयात्रु ७१, कार १६, ट्रक १६, बस आठ, साइकल चार र एउटा माइक्रो दुर्घटनामा परेका छन्।
उपत्यकामा आर्थिक वर्ष २०७४/७५ मा १९४ र आर्थिक वर्ष २०७३/७४ मा १८२ जनाको सवारी दुर्घटनामा परी ज्यान गुमेको थियो। यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३३ लाख र काठमाडौँ उपत्यकामा मात्र ९ लाख हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४