काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्दै छन्।
छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लागेका हुन्। संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ।
प्रधानमन्त्री ओली जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नेछन्। नेपालको सबैभन्दा पुरानो दौत्य सम्बन्ध भएको (२०३ वर्ष) मुलुक बेलायतसँग बेलायती गोर्खा सैनिकसँगको भावनात्मक सम्बन्ध पनि जोडिएको छ। फ्रान्ससँग भने ७० वर्षे द्विपक्षीय सम्बन्ध छ। यी विकसित मुलुकसँग नेपालले राजनीतिक स्थिरता हासिल गरेसँगै अब आर्थिक सहकार्यको सम्बन्धलाई विस्तार गर्न भ्रमण फलदायी हुने देखिएको छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाका साथ नीति तथा कार्यक्रम र बजेट प्रस्तुतिपछि प्रधानमन्त्रीको यो विदेशयात्रा हुन लागेको छ। यसअघि प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको भ्रमणमा गएका थिए।
प्रधानमन्त्रीको भ्रमण आपसी सम्बन्ध अझै विकसित गर्न तथा नेपालले हासिल गरेका उपलब्धिमा ती राष्ट्रबाट सहयोगका नयाँ क्षेत्र, लगानी तथा व्यापार प्रवर्द्धन गर्नमा नेपालले आफ्नो प्रयासलाई अघि बढाउन केन्द्रित हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओली अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा जेनेभामा आयोजना हुने विशेष समारोहमा सहभागी हुने सिलसिलामा जेठ २६ र २७ गते स्विट्जरल्याण्डको जेनेभामा रहनेछन्। उनले आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ। शतवार्षिकी सम्मेलनमा सहभागिता तथा संयुक्त अधिराज्य र फ्रान्सको औपचारिक भ्रमण नेपालको परराष्ट्र सम्बन्ध तथा अन्तर्राष्ट्रिय मञ्चमा महत्वपूर्ण सहकार्यको अवसर हुने ठानिएको छ। जेनेभा बैठकमा विश्वका ४५ देशका सरकार तथा राष्ट्रप्रमुखको सहभागिता रहने जनाइएको छ। त्यहाँ रहँदा प्रधानमन्त्री ओलीको केही देशका समकक्षीसँग र उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
ओलीले जेठ २७ देखि २९ गतेसम्म बेलायतको औपचारिक भ्रमण गर्नेछन्। बेलायत बसाइका क्रममा जेठ २७ गते अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओलीको त्यहाँका प्रधानमन्त्री थेरेसा मेसँग जेठ २८ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले भ्रमणकै सिलसिलामा नर्वेली प्रधानमन्त्री इर्ना सोल्बेर्गसँग पनि भेटवार्ता गर्नेछन्।
जेठ २९ देखि ३१ गतेसम्म प्रधानमन्त्रीले फ्रान्सको भ्रमण गर्ने र पेरिसमा उनले आफ्ना फ्रान्सेली समकक्षी इदोवार्ड फिलिपसँग भेटवार्ता गर्नेछन्। परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भ्रमणले युरोपेली मुलुकसँगको सम्बन्ध थप सुदृढ बनाउने तथा नेपालले अहिले लिइरहेको बाटोबारे मित्र राष्ट्रलाई अवगत गराउने उद्देश्यमा केन्द्रित रहने बताए।
प्रधानमन्त्रीले जेनेभामा आइएलओको बैठकलाई गर्ने सम्बोधनमा नेपालको सो सङ्गठनसँगको सम्बन्ध र ऐक्यबद्धता तथा नेपालजस्ता अल्पविकसित राष्ट्रले श्रम सम्बन्धमा बेहोर्नुपरिरहेको चुनौती एवं नेपालले नयाँ संविधानअन्तर्गत श्रम सम्बन्धमा अपनाएका सामाजिक सुरक्षाका कार्यक्रमसहितका विषयलाई उठाउने जानकारी ज्ञवालीले दिए। भ्रमण दलमा करिब २२ जना सहभागी हुनेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४