काठमाडौं - नेकपा एकीकरणका बाँकी काम प्रधानमन्त्री केपी ओलीको युरोप यात्रापछि मात्र टुंगो लाग्ने भएको छ। बुधबार र बिहीबारको सचिवालय बैठकमा जिल्लाका इन्चार्ज–सहइन्चार्ज तोक्ने विषयमा सहमति नजुटेपछि यो एजेन्डालाई युरोप यात्रापछि धकेलिएको छ।
जिल्लाका इन्चार्ज–सहइन्चार्जमा सहमति नजुटेपछि नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। तीन दिनदेखि जारी बैठकमा बिहीबार जिल्लाका इन्चार्ज–सहइन्चार्ज तोक्ने, जनवर्गीय संगठनको एकीकरण गर्ने र नेताहरुको कार्य विभाजन लगायतका एजेन्डा थिए। यी सबै एजेन्डामा थप गृहकार्य आवश्यक भएको भन्दै बैठक स्थगित गरिएको हो। अर्को बैठकको टुंगो लागेको छैन।
जिल्ला इन्चार्ज पूर्व एमालेको भए सहइन्चार्ज पूर्व माओवादीको बनाउने मापदण्ड बनाइएको छ। यस्तै इन्चार्ज पूर्व माओवादीको भए सहइन्चार्ज पूर्वएमालेको बनाइनेछ। तर यस विषयमा बरिष्ठ नेता माधव नेपाल पक्षले असहमति जनाएको छ। सांसद र मन्त्री भएकाहरुलाई जिम्मेवारीमा प्राथमिकता दिनु नहुने नेपाल पक्षको अडान छ।
प्रधानमन्त्री केपी ओली शनिबार नौ दिन लामो युरोप भ्रमणका लागि त्यसतर्फ जाँदैछन्। त्यसैले बैठक बस्ने मिति तोकिएको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४