काठमाडौं- ‘गुण्डा नाइके’ राधे भनिने राधाकृष्ण भण्डारी पक्राउ परेका छन् । काठमाडौं र धादिङमा गुण्डागर्दी र हप्ता असुली गर्दै आएका राधे धादिङको बेनिघाटबाट पक्राउ परेका हुन् ।
राधेको साथबाट प्रहरीले चक्कु बरामद गरेको छ। उनीविरुद्ध विभिन्न व्यक्तिले दिएको उजुरीका आधारमा प्रहरीले खोजी तीव्र पारेको थियो । गुण्डा नाइके राधे समूह र प्रहरीबीच जम्काभेट भएपछि उनी भाग्ने प्रयास गर्दै प्रहरीमाथि आक्रमण गरेका थिए । गुण्डा नाइके राधे समूहको आक्रमणबाट प्रहरी हबल्दार घाइते भएका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विश्वराज पोखरेलका अनुसार राधेसँगै अन्य पाँचजना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीको टोलीले राधेलाई पक्राउ गरेको हो । प्रहरी इनकाउन्टरमा मारिएका चरीको हत्या गर्ने उद्देश्यले राधेले थानकोटमा गोली प्रहार गरेका थिए । राधे नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलका धादिङ जिल्ला उपाध्यक्ष हुन् ।
राधेले २०७० असार २१ गते धादिङबाट राजधानी फर्किने क्रममा चरीलाई ज्यान मार्ने उद्देश्यसहित गोली हानेका थिए । त्यसपछि राधे चर्चामा आएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४