धनगढी- हामीमध्ये धेरै पत्रिकामा खानेकुरा राखेर खान्छौं। व्यापारीले पनि खानेकुरा पत्रिकामा बेरेर नै दिन्छन्। तर पत्रिकामा राखेर खानेकुरा खाँदा क्यान्सरजस्तो प्राणघातक रोग निम्तिन सक्छ है !
अधिकांश ठाउँमा पसलेहरु चटपटे, समोसा, पकौडा, पुरी, जेरी, मिठाईजस्ता खानेकुरा अखबारमा बेरेर दिन्छन्। अर्कातिर, धेरै व्यक्ति घरमा खाना प्याक गर्न पनि अखबारै प्रयोग गर्छन्। तर हामीले अखबारमा राखिएको कुनै पनि खाद्यपदार्थ स्वास्थ्यका लागि निकै धेरै जोखिमपूर्ण मानिन्छ भन्ने कुरा भुल्न हुँदैन ।
अखबारमा समाचार वा फोटो छाप्न जुन मसीको उपयोग हुन्छ, त्यसमा डाई, पिग्मेन्टस, अल्कोहल, आइसोब्युटाल फटालेट, प्रिजरभेटिभ, ग्रेफाइट, डाइएन आइसोब्युटाइलेट जस्ता रसायन हुन्छन्। यी सबै रसायन निकै खतरनाक हुन्छन्। यिनको थोरै अंशले पनि शरीरमा क्यान्सरजस्तो घातक रोग उत्पन्न गर्न सक्छ।
रोगमध्येकै जटिल मानिन्छ क्यान्सर । कतिपय क्यान्सर यति खतरनाक हुन्छ, चिकित्सा विज्ञानले पनि उपचार गर्न सक्दैन । मानिसको मृत्युसमेत हुन सक्छ । के कारण यो रोग लाग्छ धेरैलाई जानकारी छैन । चिकित्सकको भनाइअनुसार प्रयोग भइसकेको पत्रिकामा पोको पारेको खानेकुरा खाँदा पनि क्यान्सरको जोखिम हुन्छ ।
वरिष्ठ फिजिसियन तथा क्षयरोग विशेषज्ञ डा. दीर्घसिंह बमका अनुसार पुराना पत्रपत्रिका, कागजपत्रमा पोको पारेका खानेकुराले मुटु रोग र क्यान्सर लाग्न सक्छ । यसको प्रयोगले फोक्सो र खाद्यनलीमा समेत समस्या हुन सक्छ ।
श्वासप्रश्वाससम्बन्धी रोगसमेत लाग्न सक्छ । अखबारमा राखिएका खाद्यपदार्थ सेवन गर्दा पाचनप्रणाली पनि प्रभावित हुन्छ। अखबारको मसीमा हुने रसायनले गर्दा हाम्रो पाचन प्रणालीमा प्रतिकूल असर पर्छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका अनुसन्धान अधिकृत दीपक कुँवरका अनुसार अखबारमा उपयोग गरिने मसी सुकाउन जुन रसायन प्रयोग गरिन्छ र तैलीय खाद्यपदार्थसँग टाँसिन्छ ।
यस्तो पदार्थ खानाका माध्यमले हाम्रो पेटमा पुगेर फोक्सो र मूत्राशयको क्यान्सर हुने जोखिम बढ्ने कुँवरले बताए । अखबारको मसीमा भएका हानिकारक रसायनले हार्मोनलाई समेत प्रभावित गर्ने उनले जानकारी दिए । शरीरको हार्मोन असन्तुलित हुँदा थुप्रै रोगले आक्रमण गर्ने खतरा भइरहन्छ।
अखबारलाई थालका रूपमा उपयोग गर्दा क्यान्सर लगायत हुने खतरा बढछ। पेटसम्बन्धी समस्या, उच्च रक्तचाप, मृगौलाको रोग हुने जोखिममा समेत बढ्छ। यस्ता खानेकुराले बालबालिका र बूढापाका बढी प्रभावित हुन्छन्, किनकि उनीहरूमा रोगसँग लड्ने क्षमता कम हुन्छ ।
धेरैलाई जानकारी छैन
अखबारमा खानेकुरा राखेर खाएमा क्यान्सर जस्तो प्राणघातक रोगसमेत लाग्न सक्छ भन्ने कुराको जानकारी धेरैलाई छैन । धनगढीका अधिकांश व्यापारी र उपभोक्तामा अखबारमा खानेकुरा खानु हुँदैन भन्ने चेतना नरहेको पाइएको छ । धनगढीमा लामो समयदेखि नास्ता पसल सञ्चालन गर्दै आएका ५८ वर्षीय वशिष्ठ शर्माले अखबारमा खानेकुरा खान नहुने भन्ने आफूले पहिलोपटक सुनेको बताए ।
सस्तो र सजिलो हुने भएकाले समोसा, जेरी, मिठाई, पुरी जस्ता खानेकुरा पत्रिकामै प्याक गरेर दिने गरेको उनले सुनाए । चटपटे बेच्दै आएका रवि शर्माले पनि आफूले चटपटे पत्रिकामै राखेर बेच्ने गरेको सुनाए । उनले पनि पत्रिकामा राखेर खाने कुरा दिनु हुँदैन भन्ने जानकारी नभएको सुनाए ।
पत्रिकामा राखेको चटपटे खाँदै गरेकी धनगढी उपमहानगरपालिका-२ की निर्मला थापाले आफूले खानेकुरा बेर्न सधैँ पत्रपत्रिकाको प्रयोग गर्दै आएको बताइन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य स्वच्छता सम्बन्धी जनचेता फैलाउँदा यसबारे पनि जानकारी दिने गरेको जनाएको छ । सडक व्यापारी र स्कुले छात्रछात्रालाई अखबारमा हुने हानिकारक वस्तुबारे जानकारी दिने गरेको कुँवरले सुनाए । त्यसले गर्दा अखबारको प्रयोगमा केही कमी आएको उनले दाबी गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४