आइतबार, साउन २४, २०८३

दोहोरो अंकले घट्यो नेप्से

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - दुई दिनमा सेयरबजार परिसूचक (नेप्से) २६.६३ अंकले ओरालो लागेको छ। सरकारले बजेटमा लगानीकर्ताको धेरै माग सम्बोधन गरेपछि बजार उकालो लाग्ने धेरैले अनुमान गरेका थिए। अनुमान विपरीत बजार आइतबार र सोमबार ओरालो लागेको हो।

आइतबार १३.७९ अंकले ओरालो लागेको बजार सोमबार १२.८४ अंकले ओरालो लाग्यो। बजार ओरालो लागे पनि यसलाई बजारको करेक्सन मात्र भएको सेयर बजार विश्लेषकहरुको भनाइ छ। बजेट अगाडि बजारको माग सम्बोधन हुने भन्दै सेयर बजार उकालो लागेको थियो। ‘बजेटलगत्तै नाफा बुक गर्ने लगानीकर्ता हाबी हुँदा बजार घट्न थालेको हो’, बजार विश्लेषक अनलराज भट्टराईले भने।

विगतको ट्रेन्ड हेर्दा पनि बजेटलगत्तै सेयर बजार ओरालो लाग्ने गरेको छ। बजेटपछि केही समय बजारलाई करेक्सन हुन समय लाग्छ तर मौद्रिक नीतिको हल्लासँगै पुनः उकालो लाग्न सुरु हुने गरेको छ।

सोमबार नेप्से १२९२.८४ अंकमा रोकिएको छ भने कारोबारमा पनि गिरावट आएको छ।  ६९ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ। आइतबार सेयर बजार १३ अंकले गिरावट हुँदा ७५ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो। सोमबार १ सय ७१ वटा कम्पनीको कारोबार हुँदा १२९ वटा कम्पनीको बजार मूल्य ओरालो झरेको छ भने २३ वटाको बढेको छ।

बजार ओरालो लाग्दा सम्पुर्ण सूचक तथा उपसूचक ओरालो लागेको हो। सबैभन्दा धेरै एनआइसी एसिया बैंकको ९ करोड रुपैयाँ कारोबार भएको छ। शिवम् सिमेन्टको ६ करोड रुपैयाँ कारोबार भएको छ।

सोमबार धेरै कमाउनेमा तारागाउँ रिजेन्सी होटल, गुराँस लघुवित्त वित्तीय संस्था र कन्काई विकास बैंकका लगानीकर्ताले कमाएका छन् भने पाँचथर पावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंकलगायतका लगानीकर्ताहरुले धेरै गुमाएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्