काठमाडौं– गतसाताको अन्तिम दिन विहीबार साढे ५ अंकले उकालो लागेको सेयर बजार परिसुचक (नेप्से) साताको पहिलो कारोबार दिन (आइतबार) दोहोरो अंकले ओरालो लागेको छ।
आइतबार बजार १३.७९ प्रतिशतले ओरालो लागेर १३०५ अंकमा अडिएको छ। बजेट आएपछि केहीदिन उत्साहका साथ बजार उकालो लागे पनि आइतबार भने ओरालो लागेको छ। बजार ओरालो लाग्दैमा आश्चर्यमा पर्न नहुने सेयरबजार विश्लेषक अनलराज भट्टराई बताउँछन्। लगानीकर्ता संघका पूर्व अध्यक्ष अम्बिकाप्रसाद पौडेलको पनि भट्टराइको जस्तै धारणा छ।
पौडेल बजार करेक्सन भइरहेको र चैत यता बजार २० प्रतिशतका दरले बढेको दावी गर्छन्।
यसदिन उत्पादनमूलक र होटल्स समूहको बाहेक अन्य सबै समूहको समूहगत परिसूचक ओरालो लागेको छ। सेयर बजार विश्लेषक भट्टराई भन्छन्, ‘बजार सन् २०१५ जस्तो ह्वात्तै बढ्दैन र ह्वात्तै घट्दैन पनि। अहिलेपनि बजार १३ सयको हाराहारीमा नै रहेको छ।’
‘सेयर बजारमा बजारको करिव ८५ पतिशत हिस्सा बैक तथा बिमा कम्पनीहरूको रहेको छ। बैंक तथा बिमा कम्पनीहरूले पुँजी बढाएर ८ अर्ब र दुई अर्ब पर्याएका छन्। पुँजी बढाउनका लागि तस् कम्पनीहरूले हकप्रद सेयर र बोनस सेयर दिए। जसका कारण सेयरको प्रबाह बढ्यो। तर, सोही अनुसारको सेयरको माग बढ्न सकेन। जसको कारण बजार उकालो लाग्न सकेन। विस्तारै लगानीकर्ताहरूको किन्ने क्षमता बृद्धि भएसँगै बजार उकालो लाग्छ, उनले भने।’
अधिकांश कम्पनीहरूको शेयर मूल्य घटेर बजार बन्द हुँदा कारोबार रकम पनि गत बिहीबारको तुलनामा आधाले घटेको छ। यसदिन १६६ कम्पनीका २ लाख ७ हजार कित्ता शेयर ७५ करोड ३२ लाख रुपैयाँमा खरिद बिक्री भएका छन्।
विश्लेषक भट्टराइले बैंक तथा वित्तिय सस्थाहरूसँग लगानीको लागि रकम नभएको र सिसिडी रेसियाको चापले उनीहरूले कर्जा प्रबाह नगरेको बताउँदै बैंकबाट कर्जा लिएर बजारमा लगानी गर्नेहरू पनि यस समय मौन बसेको र आगामी आर्थिक वर्षदेखि भने बजेटको कार्यान्वयनसँगै बजार बढ्ने बताए।
उनका अनुसार साउन १५ देखि बजार उकालो लाग्ने छ। ‘बजेटले धेरै कुरा सेयर बजारको पक्षमा नै ल्याएको छ, भने बैंकहरुमा पनि सरकारको पुँजीगत खर्च बृद्धिहुदा तरलता पर्याप्त हून्छ जसले बजार उकालो लाग्ने छ, उनले भने।’
पौडेल पनि आगामी आर्थिक वर्षदेखि बजार बढ्नेमा सहमत छन्। उनी भन्छन्, ‘बजेटले बजार सुधारको लागि धेरै राम्रा व्यवस्था गरेको छ, यसको प्रभावका लागि केही समय कुर्नुपर्दछ। प्राकृतिक व्यक्तिमा लाग्ने कर पनि ५० प्रतिशतले घटेको छ। जसको प्रभाव बजारमा सकारात्मक पर्दछ।’ पहिले यस्तो कर ७.२ प्रतिशत थियो अहिले सरकारले ५ प्रतिशतमा झारेको छ।
‘नेपाल धितोपत्र बोर्डमा रहेको सरकारको र नेपाल राष्ट्र बैंकको सेयर निजी क्षेत्रलाई बिक्रि गरिने, बजारमा एनआरएनको लगानी खुल्ला गर्ने लगायतका कुराले बजारलाई विस्तारै प्रभाव पार्दछ र बृद्धिका लागि टेवा पु¥याउँछ, पौडेलले भने।’
आइतबार प्रिमियर इन्स्योरेन्स, शिवम् सिमेन्टस्, अपर तामाकोशी, एनआइसी एशिया लगायतको कारोबार धेरै भएको छ।
यसदिन कन्काई विकास बैंक र तारागाउँ रिजेन्सी होटल, माउन्टेन हाइड्रो, युनिभर्सल पावर, गुडविल र रिलायन्स फाइनान्स तथा कैलाश विकास बैंकका लगानीकर्ताले धेरै कमाए।
त्यसैगरी धेरै गुमाउनेहरुमा पाँचथर पावर, ग्रीन डेभलपमेन्ट बैंक, स्वदेशी लघुवित्त, हिमालयन उर्जा लगायतका कम्पनीका लगानीकर्ताहरूले गुमाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४