काठमाडौं - सरकारले आगामी आर्थिक वर्षका लागि केहीबेरमा संघीय संसदमा बजेट प्रस्तुत गर्दैछ। दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पेस गर्दैछन्। राष्ट्रिय योजना आयोगले २ बजे र मन्त्रिपरिषद्को ३ बजे बस्ने बैठकले बजेट पारित गरेपछि संसदमा पेस गरिनेछ।
गत वर्ष संघीय सरकारको पहिलो बजेटमा लोकप्रिय कार्यक्रम नराखेको भन्दै आलोचित अर्थमन्त्री डा. खतिवडाले आगामी वर्षका लागि तयार पारेको बजेटमा भने लोकप्रिय तथा पार्टीका कार्यकर्ता रिझाउने विषय समावेश छन्। उनले यसपालिको बजेटमा वृद्धभत्ता, कर्मचारीको तलबमा वृद्धि र सांसदहरुलाई रिझाउन स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रममार्फत सांसदहरुलाई यसअघि दिइएको चार करोडमा करिब डेढ करोड थपेर साढे ५ करोड पुर्याइएको बताइएको छ। सांसदहरुले भने यसलाई बढाएर १० करोड पुर्याउनुपर्ने माग गर्दै आएका छन्।
स्रोतका अनुसार बजेटको आकार १५ खर्ब ७७ अर्ब हाराहारीको हुनेछ। राष्ट्रिय योजना आयोगले सुरुमा १४ खर्ब ९३ अर्ब रुपैयाँभित्र बजेट ल्याउन सीमा तोकेको थियो। अर्थ मन्त्रालयले आयोगको सिलिङमा रहेर बजेट ल्याउन नसकिने भनेपछि आयोगले मध्यकालीन खर्च संरचनाअनुसार १५ खर्ब ७७ अर्बसम्म जान सक्ने बाटो खोलेको थियो। बजेटका लागि १० खर्ब हाराहारी राजस्व उठाउने लक्ष्य लिइएको छ। ३ खर्ब ६६ अर्ब रुपैयाँ वैदेशिक ऋण तथा अनुदान र २ खर्ब १० अर्ब आन्तरिक ऋणमार्फत स्रोत जुटाइने बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४