बिहीबार, चैत १२, २०८२

हराउँदै छ सुकुल भोजको 'सलिचा'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं - आसन सुकुलमा। अगाडि सालको पातको लपेस। त्यसमा चिउरा, साँधेको भटमास, सिद्रा, चना, केराउ, अचार, मासुका परिकार। छेउमै जाँड र रक्सीले टन्न भरिएको सलिचा। परम्परागत नेवारी भोजका परिकार हुन् यी।
 
नेवारी भोजमा प्रयोग गरिने सलिचा लोप हुँदै गएको छ। सलिचा दही, जाँड, रक्सी, पाऊँ आदि हालेर खाने सानो माटाको भाँडो हो। यसको सट्टा प्लास्टिकको कप प्रयोग हुन थालेको छ।

भक्तपुरका सरोज लबजु भन्छन्, ‘सलिचामा दही खाँदा मिठो स्वाद फरक हुन्थ्यो। प्लास्टिकका गिलासमा त्यो स्वाद कहाँ पाउनु ?’ ६–७ वर्षअघि भोजमा ‘सलिचा’ अनिवार्य मानिन्थ्यो। सलिचा माटोको भाँडो हो। 

हुन त सुकुल भोजलाई पार्टी प्यालेसले विस्थापित गरिसकेको छ। बिहे, व्रतबन्ध र पास्नी जस्ता कार्यमा पार्टी प्यालेसमै भोज हुन थालेको छ। घरमै हुने सानातिना भोज र देवालीमा भने सुकुल भोज हुन्छ। 



के भन्छन् व्यवसायी?

भक्तपुर च्यामासिहंकी कृष्णश्वरी प्रजापति (६२) को पुर्ख्यौली पेसा सलिचा बनाउनु हो। उनका अनुसार सलिचाको माग घटेको छ। त्यसैले बनाउनेको कमी आएको उनी बताउँछिन्। यसप्रति नयाँ पुस्ताले चासो दिन छाडेको उनको अनुभव छ। उनी भन्छिन्, ‘छोराहरूले गर्दैनन्, हामी बूढाबूढी मिलेर बनाउँछौँ। अब त बूढो पनि भइयो, धेरै काम गर्नै सकिँदैन।’ 

सलिचाको माग पनि घटेको छ। मागअनुसार आपूर्ति गर्न नसकेको उनी बताउँछिन्। यसको माग जात्रा, भोज, दसैँतिहारमा मात्र हुने गर्छ। पहिलेपहिले जाँडरक्सी सलिचामा हालेर खाइन्थ्यो। माटोको भाँडामा खाँदा स्वादिलो हुन्छ। यस्तै माटोले खानामा भएका विकार हटाउने जनविश्वास छ।
 
संस्कृतविद् तेजेश्वर बाबु ग्वँगका अनुसार माटोसँगको मानव सभ्यता जोडिएको छ। उनले भने, ‘भोजमा सलिचाको प्रयोग हाम्रो परम्परा हो। अझै पनि सलिचाको प्रयोग गरिएको पाइन्छ। तर घट्दै गएको छ।’

माटोको समस्या

अचेल माटो पाइने ठाउँमा बस्ती विस्तार भएका छन्। त्यसैले भाँडा बनाउन माटो पाइन छाडेको छ। पहिलेपहिले भाँडा बनाउने माटो जहाँ पनि पाइन्थ्यो। अहिले अन्यत्रबाट मगाउनुपर्छ। यस्तै माटोको भाँडा बनेपछि पोल्नका लागि दाउराको पनि अभाव छ।
  
‘माटो नै पाउन छाडेको छ। त्यसैले हामीलाई नै गाह्रो भएको छ’, व्यवसायी विनोद प्रजापति भन्छन्। उनका अनुसार उपत्यकाबाहिरबाट पनि माटो ल्याउनुपर्ने हुन्छ। 



आर्थिक भार 

एउटा सलिचाको मूल्य ५ रुपैयाँ पर्छ। ५० देखि ६० वटा प्लास्टिकका गिलासको करिब एक सयदेखि एक सय पचाससम्म पाइन्छ। त्यही ५० देखि ६० वटा सलिचाको पाँच सय पर्न जान्छ। यसैले पनि मानिस सस्तो रोज्न थालेका छन्।
 
नयाँ प्रविधि आउनु स्वाभाविकै रहे पनि मौलिकता गुमाउन नहुने सुझाव ग्वँगको छ। उनले भने,  ‘यसका लागि आफ्नै प्रविधि, संस्कार र परम्परा र स्थानीय स्रोतसाधनको ज्ञान दिने पाठ्यक्रम बनाउनुपर्छ।’ यसो नगरे संस्कृति नै हराएर जाने उनले बताए। सलिचालाई समयअनुसार परिमार्जन गरी प्रयोग गर्नुपर्ने उनले बताए। उनले भने, ‘समाज परिवर्तनशील छ तर परम्परा हराएर जानु राम्रो होइन।’
 
यस्ता परम्परागत विषयमा विद्यालय स्तरबाटै सिकाउने हो भने जगेर्ना हुन सक्ने उनको भनाइ छ। अन्यथा आगामी पुस्ताले ‘सलिचा’ बारे केही थाहै नपाउने उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्