काठमाडौं - राष्ट्रियसभा आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका छन्।
प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री डा खतिवडाले विनियोजन विधेयक २०७६/७७ का सिद्धान्त र प्राथमिकताको खाकाभित्र रहेर बजेट तर्जुमा हुने भन्दै छलफलमा उठेका कुरा बजेट निर्माण गर्दा मार्गदर्शनका रुपमा लिने प्रतिबद्धता समेत व्यक्त गरे।
अर्थमन्त्री खतिवडाले संवैधानिक व्यवस्थाअनुसार नागरिकका मौलिक हक र अधिकारसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गर्दै जीवनयापनका न्यूनतम आधारभूत आवश्यकता शीघ्र पूरा गरिने विनियोजन विधेयकको प्राथमिकता रहेको बताए।
उनले आगामी वर्षको बजेटमा खाद्य सुरक्षा, रोजगारी, आधारभूत शिक्षा, जनस्वास्थ्य, आवास, सामाजिक सुरक्षालगायतका मौलिक कार्यान्वयन गर्न बनेका कानूनको कार्यान्वयन गरी सुरक्षित, सम्मानजनक र गुणस्तरीय जीवनयापनको अवसर सुनिश्चित गर्दै लगिने उल्लेख गरे।
यसैबीच, बैठकको सुरुमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी दिइएको सम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४