काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले स्थापित परम्परा तोडेर सरकारको नीति कार्यक्रममा मेरो सरकार शब्द प्रयोग गरेको आरोप लगाएका छन्। सो पार्टीको जागरण अभियानको बुधबार राजधानीमा उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।
‘यस भन्दा अघिल्लो नीति कार्यक्रममा मेरो सरकार थिएन, रामवरण यादव राष्ट्रपति हुँदा सरकारले ल्याएको कार्यक्रममा पनि मेरो सरकार शब्द थिएन, गणतन्त्र आएपछि यस बिषयमा एउटा परम्परा बसेको थियो तर अहिले आएर त्यसलाई तोड्ने काम भएको छ के अब हामीले विद्या भण्डारीलाई ‘हर माई मेजेष्टि’ भन्ने?’ देउवाले प्रश्न गरे।
‘प्रधानमन्त्री केपी ओलीले सरकारको नीति कार्यक्रममा जवाफ दिने क्रममा गैर संसदीय शब्द बोलेकोमा कांग्रेसले विरोध जनाएको उनले बताए। ‘ गैर संसदीय शब्द रेकर्डबाट हटाउन हामीले सभामुखलाई आग्रह गर्यौं तर उनले मानेनन् उनी संसदमा सत्ता पक्षका कार्यकर्ता भए’, देउवाले भने।
सभामुख प्रति आक्रोशित हुँदै उनले भने, ‘नेपालको इतिहासमा अहिलेको जस्तो कातर र डरपोक निरीह सभामुख मैले देखेको छैन।’ देउवाले सरकार सत्ता पक्षको भए पनि संसद विपक्षीको हुने परम्परालाई तोडिएको बताए। देशव्यापी जागरण अभियानमा आफुहरु शान्तिपूर्ण तरिकाले जाने बताउँदै उनले आफुहरुले कुर्सी र रेलिङ भाँच्ने काम नगर्ने बताए।
कार्यक्रममा बोल्दै अर्का नेता प्रकाशमानसिंहले कांग्रेस भित्र एक आपसमा हार्दिकता हराउदै गएको भन्दै देउवाप्रति व्यङ्ग्य गरे। ‘प्रतिबन्धित कालमा घर परिवारका सदस्य भन्दा पार्टीका साथीभाई नजिक हुन्थे तर अहिले पार्टी भित्र निर्दलीय संस्कार छिरेको छ।’, उनले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४