काठमाडौं- काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ सेवा निवृत्त भएका छन्।
गुरागाईँले, २०८१ भाद्र २७ गतेको नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार २०८१ असोज ७ गते काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा पद वहाली गरेका थिए। उमेर हदका कारण उनी बुधबारदेखि अनिवार्य अवकाशमा गएका हुन्।
महानगरपालिकाले उनलाई विदाइ गरेको छ। विदाइ कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, कार्यपालिका सदस्यहरु, विभागीय प्रमुखहरु, महाशाखा प्रमुखहरु सहभागी थिए। विदाइ कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले, कर्मचारी, जनप्रतिनिधि र साझेदार निकायसँग सहकार्य, समन्वय र सहअस्तित्वका लागि गुरागाईँले गरेको प्रशासनिक नेतृत्व काठमाडौँ महानगरपालिकाले स्मरण गरिरहने बताइन्।
विदाइ अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले, आफ्नो साढे ३२ वर्षे सेवा अवधिमा काठमाडौँ महानगरपालिकामा सेवा गरेको अवधि सबैभन्दा स्मरणीय रहेको बताए।
२०५१ साल पुस १९ गते शाखा अधिकृत पदबाट सङ्घीय निजामती सेवामा प्रवेश गरेका गुरागाईँको सेवा कालको सबैभन्दा धेरै समय स्थानीय तहमा वित्यो। त्यस क्रममा उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब २ वर्ष र स्थानीय तहमा करिब २१ वर्ष सेवा गरेका थिए।
काठमाडौँ महानगरपालिका आउनु अघिका करिब ७ वर्ष उनले उद्योग मन्त्रालय अन्तर्गतको काम गरेका थिए। २०७६ फागुन १३ गते नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणीमा नियुक्त भएका थिए।