काठमाडाैं- सरकारले चीनसँग हालै भएको पारवहन ढुवानी सम्झौताको प्रोटोकल कार्यान्वय प्रयास थालिएको बताएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रोटोकल कार्यान्वय गर्न चीनका सुक्खा र समुद्री बन्दरगाहबाट सामान छुटाउने, आयात प्रक्रिया, आवश्यक पर्ने कागजात, ढुवानी खर्च दूरी र समय अध्ययन गर्न विशेषज्ञसहितको टोली चीनतर्फ प्रस्थान गर्ने प्रक्रियामा रहेको बताए ।
मंगलबार सञ्चारकर्मीमाझ उनले भने, “पारवहन यातायात सम्झौता र उक्त सम्झौताको प्रोटोकलको कार्यान्वयनको अवस्थाका बारेमा पुनरावलोकन गर्न नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र चीनको यातायात मन्त्रालयका सचिवस्तरमा एक संयुक्त परामर्श संयन्त्र बनेको छ ।” त्यसैगरी प्राविधिक विषयमा छलफल गर्न ती दुवै देशका ती निकायका सहसचिव र महानिर्देशक स्तरमा संयुक्त परामर्श समिति गठन भएको जानकारी पनि उनले दिए ।
सुक्खा तथा सामुद्रिक बन्दरगाह प्रयोग गर्न तीन वर्षअघि नेपाल र चीनबीच पारवहन ढुवानी सम्झौता भएको थियो भने यही वैशाख १६ गते उक्त सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको हो । उक्त प्राटोकल हस्ताक्षर भएसँगै लागू भएको छ जसले चीनको भूमि हुँदै जापान कोरियालगायत तेस्रो देशबाट वस्तु आयात–निर्यात गर्न पारवहन मार्ग खुला भएको छ ।
यसैबीच सचिव अधिकारीले भूकम्पका कारण बन्द भएको तातोपानी नाका आगामी जेठ ६ गतेदेखि सञ्चालन हुने बताए।
“चिनियाँ पक्षले उक्त दिन नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गर्ने जानकारी दिएको छ, हाम्रोतर्फबाट पनि तत्काल शुरु हुन्छ,” नेपालतर्फका सडक पूर्वाधार सडक विभागले मर्मतसम्भार गर्ने विश्वास व्यक्त गर्र्दै उनले भने ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४