धनगढी – निर्माणाधिन धनगढी–अत्तरीया ६ लेन सडक धुलाम्य हुँदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ। ग्राभेल गरिएको ६ लेन सडकमा सवारी साधन गुड्दा उड्ने धुलोले सडकमा आवतजावत गर्ने र सडक आसपास बसोबास गर्ने स्थानीयले निकै सास्ती व्यहोर्नु परेको हो।
६ लेन सडकअन्तर्गत धनगढी मोहनापुलदेखि अत्तरीयासम्म यस अघिको कालोपत्रे भत्काएर ग्राभेल गर्ने काम भइरहेको छ। सडकको चौडाइ पनि बढाएर ३२ मिटर पुर्याइएको छ। ग्राभेल बिच्छ्याइएको सडकमा सवारी साधनहरु गुड्दा वातावरण धुलाम्य हुने गरेको स्थानीय भरत धामीले बताए। ‘२–३ वटा ठूला सवारी साधन सँगै गुड्दा उड्ने धुलोले कुहिरो लागेजस्तै देखिन्छ।’ उनले भने, ‘यसले मान्छेको स्वास्थ्यमा गम्भीर असर गरेको छ तर यसबारे सरोकारवाला निकायको चासो देखिन्न।’
६ लेन सडकमा दैनिक सयौं विद्यार्थी, सर्वसाधारण र सवारी साधन ओहोरदोहोर गर्छन्। तर, धुलो नउड्ने गरी काम गर्नेतर्फ सरोकारवाला निकाय र निर्माण कम्पनीको ध्यान जान नसकेको स्थानीयको गुनासो छ। धुलो न्यूनिकरण गरेर काम गर्न स्थानीयबासिन्दाले आग्रह गर्दै आएका छन्। केहि दिन अघिमात्र धनगढीका केही युवाहरु आयोजना कार्यालय पुगेर धुलो न्यूनिकरण गरेर काम गर्न र निर्माणलाई तीव्रता दिन आग्रह गरेका थिए। एक हप्ताभित्र धुलो न्यूनिकरण नगरे आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन्।
सडक निर्माणका क्रममा उड्ने धुलोले यहाँको जनजीवन नै प्रभावित हुने गरेकोले धुलो न्यूनिकरण गरी काम गर्न र निर्माणलाई तीव्रता दिन आग्रह गरिएको स्थानीय मदन भट्टले जनाए। धुलो न्यूनिकरणका गर्न आयोजना कार्यालय र सम्बन्धित निर्माण व्यवसायीलाई आग्रह गरिएको उल्लेख गर्दै उनले सुनुवाइ नभए आन्दोलन गर्ने चेतावनी दिए। धुलो उड्न नदिन दैनिक ४/५ पटक पानी हाल्नुपर्ने माग युवाहरुले गरेका छन्।
आयोजना निर्माणमा ढिलो भइरहेकाले पनि लामो समयसम्म सास्ती व्यहोर्नु परिरहेको स्थानीयबासीको भनाइ छ। ‘ठेकेदार र सरोकारवाला निकायको लापरबाहीका कारण निर्माणमा ढिलाइ भइरहेको छ ।’ अर्का स्थानीय पदम खडकाले भने, ‘काम तीव्र रुपमा भएको भए अहिले भोग्नु परेको सास्तीबाट छिटो मुक्ति पाइन्थ्यो।’
६ लेन सडक आयोजना कार्यालय धनगढीका इन्जिनियर खगेन्द्र शाहीले सडक धुलाम्य हुँदा सास्ती भएको भन्ने गुनासो कार्यालयमा दैनिकजसो आउने गरेको बताए।
ट्यांकरबाट सडकमा नियमित पानी हाल्ने गरिए पनि धुलो कम गर्न त्यो पर्याप्त नभएको उनको दाबी छ। ‘धुलैधुलो हुँदा सास्ती भयो, पानी हालेर धुलो कम गर्ने गरी काम गर्नुपर्यो भनेर सर्वसाधारणबाट दैनिकजसो गुनासो र दबाब आउँछ’ शाहीले भने, ‘निर्माण कम्पनीले पानी पनि हाल्छन् तर यस्तो गर्मीमा पानी हालेको एकैछिनमा सुख्खा भइसक्छ।’
६ लेनअन्तर्गत मोहनापुलदेखि बोराडाँडी खण्ड निर्माण गरिरहेको नागार्जुन कन्स्ट्रक्सनका इन्जिनियर विश्वम्भर यादवले ६ लेनको ३२ मिटर चौडा सडकको पुरै भागमा पानी हाल्न नसकिने बताए। पुरै सडकमा पानी हाल्न नसकिने भएकाले धुलो कम उडोस् भनेर निर्माण नहुँदासम्म १० मिटरभित्रमात्र सवारी साधन गुड्ने व्यवस्था गरी नियमित पानी हाल्ने गरेको उनले बताए।
करिब १ अर्ब ६८ करोडको लागत रहेको ६ लेन सडक प्रदेशकै महत्वपूर्ण आयोजना हो। तर, काम सुरु भएको दुई वर्ष पुग्दा पनि आधा काम भएको छैन। जसले गर्दा यो सडकमा आवतजावत गर्ने र सडक आसपासका बासिन्दाहरु धुलो र हिलोको मार खेपिरहेका छन्। सम्झौताअनुसार आगामी जेठभित्र सक्नुपर्ने यो आयोजनाको भौतिक प्रगति हालसम्म करिब ४० प्रतिशतमात्र रहेको ६ लेन सडक आयोजना कार्यालयले जनाएको छ।
काममा ढिला भएपछि निर्माण अवधि थप्ने तयारी भइरहेको आयोजनाका सुचना अधिकारीसमेत रहेका इन्जिनियर शाहीले जानकारी दिए। १४ दशमलव २ किलोमिटर लामो ६ लेन सडक तीन खण्डमा छुट्याएर छुट्टाछुट्टै ठेक्कामार्फत् निर्माण भइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४