काठमाडौं- आज अक्षय तृतिया अर्थात जौको सातु र सर्वत खाएर मनाउने गरिन्छ । आजको दिनलाई दान गर्ने र अक्षय पुण्य लाभ गर्ने दिनका रुपमा पनि लिने गरिन्छ ।
अन्य दिनमा गरेका दान भन्दा अक्षय तृतीयामा गरेको दान हजार गुणा बढि पाइने शास्त्रोक्ति रहेकाले गाई, कन्या, ब्राम्हण, योगी, अनाथ, अपांग, बिरामी, असहाय, गरीबलाई दिने चलन वैदिक कालदेखि चल्दै आएको हो ।
मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको सुरुवात भएको मानिन्छ । यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ ।
अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदिन र रेणुकाको सुपुत्रका रुपमा भएको थियो ।
यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ । जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४