बुधबार, मंसिर १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • माथिल्लो तामाकोसीमा वैशाखभित्रै पेनस्टक पाइप जडान हुने

माथिल्लो तामाकोसीमा वैशाखभित्रै पेनस्टक पाइप जडान हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
दोलखा – स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको तल्लो र माथिल्लो ठाडो सुरुङमा २२ वैशाख भित्रमा पेनस्टक पाइप जडान सुरु हुने भएको छ।
 
आयोजनाको तल्लो पेनस्टक साफ्टमा ३७२ मिटर पेनस्टक पाइप जडान र परीक्षणलाई  अत्यन्तै जटिल एवं चुनौतिपूर्ण मानिएको छ। तल्लो ठाडो सुरुङमा ५ मिटर लम्बाइ र २७ टन तौल भएका पेनस्टक पाइप जडान गर्नुपर्ने छ । माथिल्लो र तल्लो ठाडो सुरुङको पुछारमा रहने बेण्ड पेनस्टक पाइपहरु जडान भइसकेका छन्। अब ती बेण्ड पाइपहरुभन्दा माथि पाइपहरु जडान सुरु गर्न क्रेन राख्ने काम अन्तिम चरणमा पुगेको आयोजनाले जानकारी दिएको छ।
 
पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि  तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ। अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो। माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकोले नै गरिरहेको छ। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपापर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले आयोजनाको शनिबार र आइतबार स्थलगत निरीक्षण गरी आयोजनाको स्वामित्व लिएर सबै कार्यहरु निर्धारित मितिभित्र सम्पन्न गर्न निर्देशन दिएका छन्। 

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको गत ९ चैतको निर्देशनअनुसार कार्यकारी निर्देशक घिसिङले आयोजनास्थल पुगेर निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग बैठक गरेका छन्। मन्त्री पुनले पछिल्लो पटक तय गरिएको तालिकाभित्रै निर्माण सम्पन्न गर्न हरेक महिना आयोजनास्थलमै उच्चस्तरीय बैठक राख्न निर्देशन दिएका थिए। 

आयोजनाको निर्माण आर्थिक वर्ष २०७३/७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो। भूकम्प लगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव २०७५/७६ को पुस महिनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो। तर, लट २ को ठेकदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएपछि १५ पुस  २०७६ (३१ डिसेम्बर २०१९) भित्र एक युनिट (७६ मेगावाट) बाट विद्युत् उत्पादनको लक्ष्यसहितको नयाँ समयतालिका तय गरी काम भइरहेको छ।
 
आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ थियो। निर्माण अवधिको ब्याज १३ अर्ब २२ करोड र वित्तीय व्यवस्थापन तथा बैक कमिसनसहित आयोजनाको अनुमानित लागत ४८ अर्ब ८६ करोड थियो। अहिले आयोजनाको लागत ४९ अर्ब २९ करोड ५५ लाख रुपैयाँ (निर्माण अवधिको ब्याज बाहेक) पुग्ने संसोधित अनुमान छ। निर्माण अवधिको व्याज १९ अर्ब ८४ करोडसहित आयोजनाको अनुमानित लागत ६९ अर्ब ५९ करोड रुपैयाँ पुग्ने संसोधित अनुमान छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्