आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सेयर धितोबाट लिएको कर्जा पुनः सेयरमा लगानी गर्न नपाउने व्यवस्था गर्दै राष्ट्र बैंक

सेयर धितोबाट लिएको कर्जा पुनः सेयरमा लगानी गर्न नपाउने व्यवस्था गर्दै राष्ट्र बैंक

गत शुक्रबार मौद्रिक नीति जारी गरी सेयर धितो कर्जामा ‘क्याप’ लगाएर केही कडाइ गरिए पनि त्यसले नपुग्ने भन्दै राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत थप कडाइ गर्ने तयारी गरेको हो।
 |  शुक्रबार, भदौ ४, २०७८
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

शुक्रबार, भदौ ४, २०७८

vianetvianet

काठमाडौं– नेपाल राष्ट्र बैंकले सेयर बजारलाई थप कडाइ गर्ने गरी एकीकृत निर्देशन ल्याउने तयारी गरेको छ। गत शुक्रबार मौद्रिक नीति जारी गरी सेयर धितो कर्जामा ‘क्याप’ लगाएर केही कडाइ गरिए पनि त्यसले नपुग्ने भन्दै राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत थप कडाइ गर्ने तयारी गरेको हो। 

triton college

मौद्रिक नीति सार्वजनिक भए पनि त्यसको विस्तृत कार्यदिशा तथा स्पष्टता सहित नेपाल राष्ट्र बैंकले ‘एकीकृत निर्देशन’ जारी गरेपछि मात्र बैंक तथा वित्तीय संस्थाहरुमा लागू हुन्छ। त्यसैले एकीकृत निर्देशन जारी गर्दा सेयर धितो कर्जामा थप कडाइ गर्ने गरी निर्देशन दिने तयारी राष्ट्र बैंकले गरेको हो। 

लगानीकर्ताहरुले सेयर धितोबाट लिएको कर्जा पुनः सेयरमा नै लगानी गरी नाफा कमाउने चक्र निर्माण गरेको र सो चक्रले लगानीकर्ताका साथै बैंकहरुमा पनि समस्या हुने भएपछि राष्ट्र बैंकले कडाइ गर्न लागेको हो। 

‘हामीले सेयर धितो कर्जामा थप कडाइ गर्ने गरी एकीकृत निर्देशन जारी गर्ने तयारी गरेका छौं,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘मौद्रिक नीतिमा नै विस्तृत कुराहरु राख्न लागिएको थियो। तर मौद्रिक नीति जारी हुनु अगावै सूचना चुहिएकोले त्यस्तो व्यवस्था गर्न सकिएन, अब एकीकृत निर्देशन मार्फत गर्छौं।’

उनका अनुसार मौद्रिक नीति सार्वजनिक हुनु अगावै सूचना चुहिएपछि मौद्रिक नीति रोक्नका लागि अर्थमन्त्रीदेखि ठूला लगानीकर्ताहरुको दबाब आएको थियो। बैंकिङ नबुझेको र नेपाल राष्ट्र बैंकभन्दा बाहिरबाट आएको अर्थशास्त्रीले भए त्यसदिनमा नै मौद्रिक नीति रोकेर उनीहरुले भने अनुसार सेयर कर्जा बढाउने थिए। तर बैंकिङ क्षेत्रलाई राम्रोसँग बुझेका गभर्नर भएकोले दबाब झेलेर मौद्रिक नीति सार्वजनिक भएको थियो। 

National life insurance
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा एकजना लगानीकर्ताले विभिन्न संस्थाबाट बढीमा १२ र एकै संस्थाबाट बढीमा ४ करोडभन्दा बढी सेयर धितोमा कर्जा लिन नपाउने व्यवस्था गरेको छ। बजारमा साना अर्थात् १० करोडभन्दा मुनिको सेयर धितो कर्जा लिने ऋणीहरुको सख्या ९७ प्रतिशत छन्। तर बाँकी ३ प्रतिशतको हाराहारीमा मात्र १० करोड भन्दा माथिको सेयर धितोमा कर्जा लिएका छन्। 

३ प्रतिशतका लागि पूरै मौद्रिक नीति नै परिवर्तन गर्न दबाब आएको गभर्नर महाप्रसाद अधिकारी निकट एक अधिकारीले बताए। मौद्रिक नीति सार्वजनिक हुनु अगावै नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकमा दुईवटा संस्थाबाट जम्मा ५ करोड भन्दा बढीको सेयर धितोमा कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गर्नेबारे छलफल भएको थियो। तर गभर्नर अधिकारीले नै यसरी उकालो लागिरहेको बजारलाई ब्रेक हानेर रोक्ने काम गर्दा बजार कोल्याप्स हुने भन्दै बरु विस्तारै सीमालाई घटाउँदै लैजाने सहमतिमा १२ करोड बनाइएको हो।

पछिल्लो समय सयर बजारमा दैनिक औसत २० अर्ब रुपैयाँको कारोबार भइरहेको छ भने सेयर बजार परिसूचक ३२ सय नाघ्ने क्रममा छ। आर्थिक अवस्था ओरालो लागेको अवस्थामा पनि सेयर बजार अस्वाभाविक रुपमा उकालो लागिरहेको बुझाइ नेपाल राष्ट्र बैंकको छ। 

बैंकहरुले अल्पकालिन रुपमा बजारमा लगानी गर्ने र नाफा हुनेबित्तिकै बेचेर नाफा बुक गर्ने गरेका कारण गत जेठमा राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गरी बैंकहरुले एक वर्षभित्रमा किनेको सेयर बिक्री गर्न नपाउने तथा आफूले लगानी गरेको लघुवित्तको सेयर किन्न नपाउने व्यवस्था गरेको थियो। 

पछिल्लो समय सेयर कर्जाको चक्रका कारण बजार उकालो लागिरहेको र क्र्यास भएको दिन हजारौं लगानीकर्ता डुब्ने तथा बैंकहरुको खराब कर्जा पनि बढ्ने भएका कारण राष्ट्र बैंकले सेफल्यान्डिङ गर्ने गरी नीतिगत व्यवस्था गर्न लागेको हो। राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गरेबाट बजारमा केही असर परे पनि दिर्घकालिन रुपमा बजारमा राम्रो हुने जानकारहरु बताउँछन्।                                                                                                           


प्रकाशित: Aug 20, 2021| 12:29 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्