ललितपुर- भौगोलिक विकट दक्षिण ललितपुरको बागमती गाउँपालिका–४ प्युटारमा उत्पादन भएका विभिन्न प्रकारका ताजा तरकारी अबदेखि मंगलबार र शनिबार बल्खुको तरकारी बजारभित्र खरिद गर्न पाइने भएको छ।
सो क्षेत्रमा प्रशस्त मात्रामा थरि–थरिका तरकारी उत्पादन हुने तर किसानले बजारमा बिक्री गर्नेतर्फ ध्यान दिन छाडेसँगै गाउँवासीको जीवनस्तर उकास्न र काममा जोसिलो बनाउन वडाले तरकारी बल्खु पुर्याउने व्यवस्था मिलाएको हो।
तरकारी उत्पादनका लागि सो क्षेत्र निकै मलिलो भएकाले सबै प्रकारका तरकारी फल्ने गर्छन्। आजभोलि गाउँवासी दैनिक निर्वाहमुखी मात्र भई कमै मात्रामा व्यवसायमुखी बन्दै जाँदा उक्त कार्यमा आकर्षण बढाउन हप्तामा दुई दिन तरकारी बल्खु बजार पुर्याउने व्यवस्था गरिएको वडाध्यक्ष नारायणबहादुर घलेले बताए।
उनले भने, ‘हामीले पहिलोपटक यही भदौ १ गते तीन सय ५० किलो तरकारी बल्खु पठायाौँ, हरेक किसानका तरकारी जोखी सोको टिपोट राखी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको मूल्यमा दिने भएका छौँ।’ सो स्थानको तरकारी भण्डारणका लागि तीन ठाउँमा संकलन केन्द्रका साथै अर्का एक स्थानमा पाँच हजार किलो अट्ने एक शीतभण्डारसमेत निर्माण सम्पन्न भइसकेको घलेले जानकारी गराए।
‘तरकारी बजारीकरण गर्न ५० प्रतिशत गाडी भाडा गाउँपालिका वा वडाले र बाँकी आधा किसान स्वयंले व्यहोर्नुपर्छ, वडामा पाँच सय ५० घरधुरी रहँदा ९५ प्रतिशत किसानले तरकारी खेती गर्ने तर आफूलाई मात्र निर्वाह हुने उत्पादन गर्ने क्रम बढेसँगै उपयुक्त जमिन बाँझो नहोस् भनी बल्खु लैजाने व्यवस्था गरेका हौँ’, उनले भने, ‘हरेक दिन २:०० बजेपछि किसानले खेतबारीबाट तरकारी टिपी संकलन केन्द्रमा लैजानुहुन्छ, प्युटारबाट बल्खु बजार पुग्न लगभग ६० किलोमिटर दूरी पार गर्नुपर्ने हुँदा त्यहाँका व्यापारीसँग समन्वय गरी बजार पठाउने व्यवस्था गरेका हौँ।’
वडाले तरकारी उत्पादन कार्यलाई जोड दिन हरेक वर्ष निःशुल्क बीउबिजन वितरण गर्नाका साथै ७५ प्रतिशत अनुदानमा टनेल बनाउने प्लाष्टिक आदि सहयोग गर्दै आएको घलेको भनाइ छ। यसैगरी वडा नं ३ भट्टेडाडाँबाट विगत १० वर्ष पहिलेदेखि तरकारी बिक्री गर्न बल्खु बजार पठाउने गरिएको वडाध्यक्ष विष्णु तिमिल्सिनाले बताए। उनले भने, ‘वडामा रहेको लगभग तीन हजार जनसङ्ख्यामध्ये करिब दुई सय ५० देखि तीन सय किसान तरकारी खेतीमा आत्मनिर्भर छन्।’ तरकारी बल्खु लैजाने व्यवस्था भएसँगै किसानमा जाँगर बढिरहेको तिमिल्सिनाको भनाइ छ।
आफूले उत्पादन गरेको तरकारी खेर जाने डरमा कतिपटक गाईवस्तुलाई खुवाउनु त कयौँ चोटी अरुलाई बाँड्नुपर्ने बाध्यता थियो। बल्खु बजार पुर्याउने भएसँगै थोरै सामग्री उत्पादन भए पनि चलेको मूल्य पाउनमा ढुक्क भएको स्थानीयवासी दीपक घिमिरेले खुशी व्यक्त गरे।
गाउँपालिकाका अन्य वडामा उत्पादन हुने तरकारीसमेत बल्खु बजार लैजाने विषयमा छलफल सुरु गरिरहेको घलेले बताए।
जिल्लाका बाँकी दुई गाउँपालिका महाँकाल र कोञ्ज्योसोमको वातावरण तथा हावापानी स्वच्छ अनि सफा रहँदा सोमा पनि राम्रोसँग तरकारी अनि फलफूल उत्पादन हुने गर्छ।बागमतीले चालु आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा भूगोल र हावापानी सुहाउने तरकारी तथा फलफूल उत्पादन गरी गाउँवासीलाई आत्मनिर्भर बनाउँदै लैजाने योजना अघि सारेको थियो।
त्यसैगरी चालु आवदेखि कृषि हाटबजार सञ्चालनमा ल्याइनुका साथै बागमतीले ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमलाई बढावा दिन प्युटारका साथै वडा नं ६ आश्राङमा आलु पकेट क्षेत्र घोषणा गरी जोड दिने र वडा नं २ माल्टा अनि प्युटार तथा आश्राङ एवं वडा नं ७ गिम्दीमा लसुनप्याज मिसन सञ्चालन गरिने योजना अघि सारेको बताइएको थियो। बागमतीले किसानलाई पशु बीमातर्फ ५० प्रतिशत अनुदान दिइने कार्यक्रमलाई निरन्तरता दिँदै प्रत्येक वडामा कृषि प्राविधिक कर्मचारीको व्यवस्था गरिदिने नीति तथा कार्यक्रम प्रस्तुत गर्दा भनिएको थियो। शुभानु आचार्य / रासस