काठमाडौं – आइतबार ओरालो लागेको शेयर बजारमा सोमबार भने सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलव ४३ विन्दुले बढेर एक हजार १ सय ४९ दशमलव ९९ विन्दुमा पुगेको छ।
यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ४५ विन्दुले बढेर २ सय ४४ दशमलव ८१ विन्दुमा पुगेको छ। स्टकका अनुसार कारोवार रकममा समेत वृद्धि भएको छ। कूल १ सय ७१ कम्पनीका १२ लाख ६५ हजार ६ सय ६२ कित्ता शेयर रु ३५ करोड २८ लाख १० हजार ७ सय ५० मूल्यमा खरीद बिक्री भए।
कारोवार भएका दश उपसमूहमध्ये सोमबार दुई उपसमूहको मात्रै शेयर घटेको छ। त्यसमा उत्पादन ४ दशमलव ६६ र अन्य ५ दशमलव ९२ विन्दुले घटेका छन्। यस्तै बैंकिङ १० दशमलव १५, होटल ३३ दशमलव ६७, विकास बैंक ६ दशमलव ३७, जलविद्युत् २ दशमलव ८७, वित्त २ दशमलव ०७, निर्जीवन बीमा २९ दशमलव ७, लघुवित्त २ दशमलव २८ र जीवन बीमा २ दशमलव २ विन्दुले बढेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४