मंगलबार, साउन १९, २०८३

चालू वर्ष समृद्धिको आधार वर्ष : अर्थमन्त्री खतिवडा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा - चाचू आर्थिक वर्ष समृद्धिको आधार वर्ष भएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्। रुपन्देहीको पूर्वी क्षेत्र धकधई बजारमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले भने, ‘हामीले कानुनको जग बसालिसक्यौं। राजस्व संकलनको विधिको जग बसाल्यौं, कर्मचारी समायोजन गरेर कर्मचारी व्यवस्थापन गर्दैछौं, अन्तर्राष्ट्रिय लगानी भित्राउन र निजी क्षेत्रसँग सहकार्य सुरु गरेका छौं। यी सबै समृद्धिका आधार हुन्।’

मन्त्री खतिवडाले निजी, सामुदायीक र सहकारी क्षेत्रसँग समन्वय गरेर संघ, प्रदेश र स्थानीय सरकार अगाडि बढ्ने बताए। उनले भने, ‘सबैको सहकार्य नभई समृद्धि आउँदैन।’

मन्त्री खतिवडाले अब औसतका आधारमा आँकडा निकाल्ने र सोहीअनुसार योजना बनाउने कार्यको अन्त्य हुने बताए। उनले भने, ‘औसतको कुरा गर्ने हो भने नेपालीको आय धेरै छ तर अहिले पनि कयौं नेपाली बिहानबेलुका खान नपाएर भोकै बस्नुपरेको छ। त्यसैले म भन्छु स्थानीय सरकारले त्यस्ता समुदायको सही तथ्यांक निकाल्नुपर्दछ तब मात्रै उनीहरुको स्तर माथि उकास्न सहज हुन्छ।’

मन्त्री खतिवडाले पछाडि परेका समुदायलाई माथि उकास्ने गरी आगामी बजेट ल्याउने तयारी भएको बताए। उनले आगमी बजेटमा लुम्बिनी र बौद्ध सर्किट प्राथमिकतामा पर्ने पनि बताए। उनले भने, ‘बेलहिया बुटवल छ लेन सडकलाई मध्यपहाडी सडकसँग जोड्ने गरी बजेट व्यवस्थापन गर्न लागेका छौं।’ मन्त्री खतिवडाले पूर्वपश्चिम रेलमार्गको डिपिआर सकिसकेको समेत बताउँदै रेल दौडाउने गरी बजेट व्यवस्थापन गर्ने पनि बताए।

नेपाल कम्युनिस्ट पार्टी रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा पूर्वमन्त्री छविलाल विश्वकर्माले रुपन्देहीको पूर्वी क्षेत्रको विकासका लागि संघीय सरकारले विशेष योजनासहित बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्