झापा- कोभिड–१९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका एक लाख १७ हजार पाँच सय ९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन्। सरकारले भारतबाट प्राप्त कोभिशिल्ड, चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोनशन खोप लगाउँदै आएका थिए।
जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लामा हालसम्म एक लाख ८८ हजार सात सय ४१ व्यक्तिले कोभिडविरुद्धका विभिन्न खोप लगाइसकेका छन्। सबैभन्दा बढी मात्रामा चीनबाट आएको भेरोसेल खोप लगाइएको छ। उनले ७७ हजार ४३७ ले भेरोसेल खोप लगाएको जानकारी दिए। त्यसमध्ये दुई मात्रा (पूर्ण खोप) लगाउने १३ हजार दुई सय १६ र एक मात्रा मात्र लगाउने ६४ हजार दुई सय २१ छन्।
जिल्लामा ६२ हजार एक सय १९ ले भारतबाट प्राप्त कोभिशिल्ड र ४९ हजार दुई सय ८५ व्यक्तिले अमेरिकाबाट प्राप्त जोनशन खोप लगाएका छन्। जोनशन खोप एक मात्रा लगाउँदा पूर्ण हुन्छ भने कोभिशिल्ड र भेरोसेल दुई मात्रा लगाउनैपर्ने हुन्छ।
कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका ५३ हजार तीन सय ७६ ज्येष्ठ नागरिक दोस्रो मात्राको पर्खाइमा छन्। आठ हजार सात सय ४३ जना फ्रन्टलाइनरले मात्र कोभिशिल्डको दुवै मात्रा लगाउन पाएका छन्।
जापानबाट आएको अस्ट्राजेनिका खोप कोभिशिल्डसँग मिल्दो छ। कोभिशिल्डको एक डोज लगाएर दोस्रो डोजको पखाईमा बसेका ज्येष्ठ नागरिकलाई अस्ट्राजेनिका खोप लगाउने तयारी भइरहेको छ। त्यसका लागि जिल्लामा २४३ खोप केन्द्र सञ्चालन गरिएको लुइँटेलले बताए। राससबाट