काठमाडौं- विभिन्न स्थानमा पुगेर विभिन्न व्यक्तिलाई ठगी गरेका एक व्यक्त नक्कली कागजात र ठगी गरेका कारसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश रामपुर गसेरा सिम्ला जिल्ला नोगली पञ्चायत घर भएका ३९ वर्षीय शेर सिंह भनिने रविकुमार सिंह छन्। भदौ २ गते साँझ साढे बजे ललितपुर महालक्ष्मी-५ सेतीपाखाबाट उनी पक्राउ परेको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए।
उनले नेपालका विभिन्न जिल्ला पुगेर राष्ट्रियतासमेत लुकाई ठगी गर्ने गरेको प्रहरीले बताएको छ। ठाउँ अनुसार नेपालको फरक फरक ठेगाना बताउँदै ठगी गर्दै आएको उजुरी परेपछि उनलाई पक्राउ गरिएको कोइरालाको भनाइ छ।
पक्राउ परेका सिंहबाट धेरै व्यक्तिहरू ठगिएको र उजुरी आउने क्रम जारी रहेकोले उनीबाट ठगीमा परेको भए महाशाखामा सम्पर्क गर्न समेत कोइरालाको अनुरोध छ।
सिंहले नेपाली नागरिकताको नक्कली प्रमाणपत्रसमेत लिएको पाइएको छ। उनले लिएको नक्कली नागरिकतामा कैलाली टिकापुर नपा-९ ठेगाना लेखिएको छ भने जन्मस्थान सुर्खेत साविक लाटीकोईली गा.वि.स.-७ छ।
यस्तो छ ठगी शृंखला
उनले बुटवल-८ बस्ने हरी मल्ल र सोही स्थानका महेन्द्र कुमार श्रेष्ठसँग ४३ लाखभन्दा बढी ठगी गरेका थिए।
यस्तै रुपन्देही लुम्बिनी साँस्कृतिक नपा-६ का अनिल गुरुङ भन्ने कृष्ण बहादुर गरुङलाई अञ्जुली कन्स्ट्रक्सनको म्यानेजिङ डाइरेक्टर हुँ भनी बा १२ च ३८५९ नं. को स्विफ्ट डिजायर कार मासिक ९० हजार भाडा दिने भनी लिएका थिए। तर कार लिएर उनी सम्पर्कविहीन बनेका थिए। उक्त कार भक्तपुर-१५ का प्रदीप रायलाई यो कार मेरो आफ्नै हो भनी ब्लुबुक धितो बन्धकी राखी ८ लाख ३५ हजार ठगी गरेका थिए। तर उक्त ब्लुबुक नक्कली रहेको प्रहरीले जानकारी दिएको छ।
यसैगरी चुरियामाई ईन्टरप्राइजेज जडिबुटी, काठमाडौँका सञ्चालक कृष्णहरी गौतमसँग बजाज कम्पनीको बा ९५ प १६८ नम्बरको डोमिनार ४०० सिसीको मोटरसाइकल लिएर अन्य रकम दिएर ३ लाख नदिइ सम्पर्क विहीन बनेका थिए।
यसैगरी उनले जिल्ला धनुषा जनकपुरधामस्थित न्यू साह एन्ड इन्टरप्राइजेजका सञ्चालक प्रदीप कुमार साहलाई रोयल हाइड्रो कन्स्ट्रक्सन प्रालिको म्यानेजिङ डाइरेक्टर हुँ भनी भिजिटिङ कार्ड समेत देखाई ठगी गरेका थिए। साहबाट पनि उनले कार लिएका थिए। प्रदेश-३-०१/ ०२३ च ००५० नं. को ब्रेजा कार लिएर मासिक १ लाख ५० हजार भाडा दिन्छु भनी लगेर सम्पर्क विहीन बनेका थिए। उक्त कार समेत प्रहरीले बरामद गरेको छ।
रोयल हाइड्रोको नक्कली लेटरप्याड, कम्पनीको छाप, नक्कली दस्तखत प्रयोग गरी आफूलाई संस्थापक अध्यक्ष हुँ भनी विभिन्न व्यक्तिहरूलाई झन्डै एक करोड ठगी गरेको समेत पाइएको छ। यसविरुद्ध रोयल हाइड्रोका संस्थापक अध्यक्ष सुरेन्द्र बहादुर शाही र प्रेम बहादुर शाहीले प्रहरीमा उजुरी दिएका थिए।
पक्राउ परेका सिंहले नेपालको नक्कली नागरिकता पेस गरी विभिन्न बैंकहरूमा खाता खोली ठगी गरेको कार्यमा प्रयोग गरेको, सवारी चालक अनुमतिपत्र समेत कीर्ते गरी बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनमाथि थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ।