बिहीबार, भदौ ४, २०८३

माधव नेपालमाथि ओलीले लगाए यस्ता आरोप

एमाले नेतृत्वमा रहेका प्रदेश सरकार गिराउन मुख्य भूमिका खेलेको र आफू नेतृत्वको सरकार हटाएर प्रतिक्रियावादीहरुको सरकार बनाउन पनि नेपालले सहयोग गरेको ओलीको आरोप छ।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै नया पार्टी दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाललाई थुप्रै आरोप लगाएका छन्। बिहीबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा र न्युज एजेन्सीसँग अन्तर्वार्ताका क्रममा उनले आरोपहरू लगाएका हुन्। 

नेपालले संघ र प्रदेशमा एमाले सरकार गिराएको आरोप

एमाले नेतृत्वमा रहेका प्रदेश सरकार गिराउन मुख्य भूमिका खेलेको र आफू नेतृत्वको सरकार हटाएर प्रतिक्रियावादीहरुको सरकार बनाउन पनि नेपालले सहयोग गरेको ओलीको आरोप छ। हालै लुम्बिनी र गण्डकी सरकारको नेतृत्वबाट एमाले बाहिरिएको छ। यसमा नेपालको सहयोग थियो भने नेपालकै अडानका कारण संघीय सरकारको नेतृत्वबाट ओलीको बहिर्गमन सम्भव भएको थियो। 

‘नेकपा एमालेको सरकार प्रतिगामी हो, एमालेको सरकार ढालेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाइ पाउँ भनेर राष्ट्रपतिकोमा हस्ताक्षर गरेर जाने,’ माधवकुमार नेपालमाथि खनिएका ओलीले भने, ‘सर्वोच्च अदालतमा पनि ओलीको सरकार अपदस्थ गरिपाउँ, शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गरिपाउँ भनेर जाने?’

माओवादी नेतृत्वका सरकार ढाल्न असहयोग गरेको आरोप

यस्तै माओवादी नेतृत्वका प्रदेश सरकार ढाल्न पनि नेपालले नै नदिएको ओलीको आरोप छ। सुदूरपश्चिम प्रदेशसभामा एमालेको बहुमत हुँदाहुँदै माओवादीलाई काँधमा बोकेर नेपालले सरकारको नेतृत्व सुम्पिएको ओलीले बताए। कर्णाली प्रदेशमा आफ्नो पार्टीको प्रष्ट बहुमत हुँदाहुँदै पनि नेपालले नै एमालेका चार सांसदलाई फ्लोर क्रस गराएर एमालेको सरकार बन्न नदिएको आरोप ओलीको छ। 

पार्टीलाई धराशायी बनाएको आरोप

नेपालले लामो समय एमालेको नेतृत्व गरेपनि उनको मुख्य कर्तव्य पार्टीलाई धराशायी बनाउने मात्र भएको अर्को आरोप ओलीले नेपालमाथि थोपरे। 'कहीँ पनि एमालेको बहुमत नहोस् र खत्तम पारौँ भनेर माधव नेपालको प्रयास हुनेछ,' उनले भने, 'यो आजदेखि मात्र होइन। विगतदेखि नै थियो। नेपालले आफू पदमा बसेर वा नबसेर पनि एमालेलाई कमजोर पार्ने कर्तव्य पूरा गरिरहेका थिए।'

'प्रत्यक्ष निर्वाचनका २४० मध्ये ३३ सिटमा झारेर अब चाहिँ एमालेलाई सिद्ध्याइयो भनेर राजीनामा गर्‍या होइन माधव नेपालले?' उनको प्रश्न थियो। 'त्यसबेला नेपाल पार्टीको टुप्पामा बसेर पार्टीलाई धराशायी पार्नु भएको थियो। उहाँले सरकारको टुप्पामा बसेर पनि पार्टीलाई धराशायी पार्नु भएको थियो,' उनले थपे, 'अहिले पार्टी र सरकारमा नबसेर पनि उहाँले एमालेलाई धराशायी बनाउनु भयो।'

एमालेलाई अलोकप्रिय बनाइसकियो भनेर प्रधानमन्त्री भएका बेला आफूहरूलाई थाहै नदिई राजीनामा दिएको समेत उनको अर्को आरोप छ। 'उहाँ प्रधानमन्त्री भएका बेला हामी सबैले सरकारलाई समर्थन गरिरहेका थियौँ। कांग्रेसले पनि समर्थन गरिरहेको थियो। तर उहाँले हामी कसैलाई पनि थाहै नदिई राजीनामा दिनुभएको थियो,' ओलीले भने, 'एमालेलाई अलोकप्रिय बनाइसकियो भनेर उहाँले राजीनामा दिएको होइन?'  

राष्ट्रिय सभामा एमाले हराएको आरोप

नेपालकै भूमिकाका कारण राष्ट्रियसभा निर्वाचनमा एमालेका आधिकारिक उम्मेदवारले चुनाव नजितेको ओलीको अर्को आरोप छ। नेपालले विपक्षीसँग साँठगाँठ गरेर एमालेका उम्मेदवारलाई हराएको ओलीको भनाइ छ। 

एमाले फुटाएको आरोप

एमाले फुटाउनकै सरकारले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ ल्याउन सरकारलाई सघाएको नेपालमाथि अर्को आरोप ओलीले लगाए। नेपालसँग कति प्रतिशत सांसद र केन्द्रीय सदस्य पुग्छन् भन्ने हिसाबकिताब गरेरै अध्यादेश ल्याइएको उनको आरोप थियो। दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २५ प्रतिशतको व्यवस्था गरिएको चर्चा भएपनि नेपालकै कारण त्यसलाई झारेर २० प्रतिशत बनाइएको ओलीको आरोप थियो।

प्रकाशित: Aug 19, 2021| 22:50 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।