काठमाडौं - यस वर्षको माध्यमिक शिक्षा परिषद् (एसइई) मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी सामेल हुने भएका छन्। परीक्षा चैत १० गते सुरु हुँदैछ। पहिलो पटक परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन उत्तरपुस्तिका खरिदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र छपाइ, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशित गर्ने काम गरेको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले परीक्षा व्यवस्थापनको सम्पूर्ण काम प्रदेश सरकारले गर्ने स्पष्ट पारे।
प्रदेश २ बाट ७२ हजार
आगामी १० गतेदेखि देशभर सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्रदेश २ बाट ७२ हजार ४९ विद्यार्थी सहभागी हुने भएको छन्। प्रदेश २ को शिक्षा विकास निर्देशनालयका अनुसार यस वर्ष एसइईमा सबैभन्दा बढी धनुषाबाट ११ हजार १ सय ८८ र सबैभन्दा कम रौतहटबाट ७ हजार ६ सय ६९ परीक्षार्थी सहभागी भइरहेका छन्।
यसैगरी सप्तरीबाट ९ हजार ९८, सिरहाबाट १० हजार ४५, महोत्तरीबाट ८ हजार १३, सर्लाहीबाट ९ हजार ५ सय २३, बाराबाट ८ हजार १ सय २४ र पर्साबाट ८ हजार ३ सय ८९ विद्यार्थीले परीक्षामा सहभागी हुन आवेदन भरेको निर्देशनालयले जनाएको छ।
प्रदेश २ का आठ जिल्लामा एसइई सञ्चालन गर्न कूल २६३ परीक्षा केन्द्र तोकिएको छ। जसमध्ये सबैभन्दा बढी धनुषामा ४३ र सबैभन्दा कम पर्सामा २४ परीक्षा केन्द्र कायम गरिएको छ। यसैगरी सप्तरीमा ३४, सिरहामा ३८, महोत्तरीमा २९, सर्लाहीमा ३३, रौतहटमा ३० र बारामा ३२ परीक्षा केन्द्र तोकिएको निर्देशनालयले जानकारी दिएको छ। व्यवस्थित एवं मर्यादित रुपमा परीक्षा सञ्चालन गर्न प्रदेश २ का विभित्र केन्द्रगरी २ सय ६३ केन्द्राध्यक्ष र ३ सय ४५ सहायक केन्द्राध्यक्ष नियुक्त गरिएको छ।
यस वर्षदेखि प्रदेश सरकार मातहत सञ्चालन भइरहेको एसइईलाई व्यवस्थित एवं मर्यादित बनाउन केन्द्र तोकिएका सबै विद्यालयलाई पत्राचार गरिएको निर्देशनालयका निर्देशक रामाकान्त शर्माले जानकारी दिए।
शर्माले परीक्षा व्यवस्थित बनाउन यसअघि नै प्रदेश तहका नेता तथा शिक्षक सम्मलित बैठकले निर्णयसमेत गरिसकेको बताए। प्रमुख सचिवको अध्यक्षतामा प्रदेश तहको सुरक्षा प्रमुखको उपस्थितिमा प्रदेश परीक्षा समन्वय समितिले परीक्षा मर्यादित बनाउन विभित्र निर्णयहरु समेत गरेको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४