काठमाडौं- रोजगारीमा दक्षिण कोरिया जान चाहने कामदारहरुका लागि आज शुक्रबारबाट आवेदन खुलेको छ । परीक्षा फारम आज ८ देखि १७ चैतसम्म बुझाउन सकिने इपिएस कोरिया शाखाले जनाएको छ ।
परीक्षा शुल्क २४ अमेरिकी डलर तोकिएको छ । परिक्षा शुल्क ग्लोबल आइएमई बैंकमा बुझाउनु पर्नेछ । तर, शुल्क बुझाउन बैंक र्नै पुग्नु नपर्ने शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।
उनका अनुसार अघिल्लो वर्ष जस्तो बैंकमा लाइन लागेर मात्रै पैसा बुझाउनु पर्दैन । अनलाइनबाटै पैसा बुझाउन सकिन्छ । त्यसका लागि इसेवा, आइएमई पेलगायत माध्यम प्रयोग गर्न सकिने उनले जानकारी दिए ।
इपिएस कोरिया शाखाले बैंकमा लाइन लाग्नु नपर्ने बताए पनि ग्लोबल आइएमई बैंकका काठमाडौंमा रहेका अधिकांश शाखामा कोरिया जान इच्छुकहरुको लामो लाइन लागेको छ । कतिपय त बिहीबार रातिदेखि नै बैंक अगाडी बास बसेका थिए भने त्यहि सुतेका थिए । अहिले बैंक अगाडीको थेगिनसक्नुको लाइन लागेको छ ।
काठमाडौं र पोखरा केन्द्रबाट सञ्चालन हुने इपिएस भाषा परीक्षा आगामी २५ र २६ जेठका लागि तोकिएको छ । पोखराबाट २० हजारले मात्रै आवेदन फारम भर्न सक्नेछन् । परीक्षाको नतिजा इपिएस कोरियाको अनलाइनमा १३ असारमा प्रकाशित हुने शाखाले जनाएको छ ।
.................
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४