काठमाडौं– कोरोना महामारीका कारण सिनेमा हलमा रिलिज हुन नसकिरहेको फिल्म ‘एक’ दसैंको छेको पारेर आगामी असोज २१ गते घटस्थापनाका दिन रिलिज हुने भएको छ। हालै मनोज पण्डितले निर्देशन गरेको यो फिल्मको डिजिटल मोसन पोस्टर सार्वजनिकसँगै रिलिज डेट पनि फाइनल भएको हो।
सिनेमा हल खुल्ने छाँट नदेखेपछि प्रदर्शनका लागि डिजिटल प्लेटफर्मकै विकल्पमा पुगेको निर्देशक पण्डितले बताए। ‘देशमा ठूला–ठूला राजनीतिक दलहरू विभाजन भैरहँदा देश विभाजित नहोस् भन्ने अवधारणामा बनेको हाम्रो यो सिनेमा घटस्थापनामा नेपालमा उपलब्ध सबै डिजिटल प्लेटफर्मबाट रिलिज गर्ने निर्णयमा पुगेका हौँ,’ पण्डितले भने, ‘नेपालमा कोही पनि फिल्ममेकरले नयाँ फिल्म डिजिटलमा रिलिज गर्ने हिम्मत नगरेका बेला हामीले आँट गरेका हौं। हेरौं, परिणाम के हुन्छ।’
राजनीतिक कथामा आधारित यो फिल्मको कथा देशलाई एउटा संकटबाट जोगाउन भएको मिसनमा केन्द्रित रहेको बताइएको छ। फिल्ममा प्रमोद अग्रहरि, विशाल पोखरेल, ज्योत्सना योगी, प्रमोद खड्कालगायत कलाकार प्रमुख भूमिकामा छन्। यो फिल्मका निर्देशक पण्डितले यसअघि ‘दासढुंगा’, ‘बधशाला’, ‘खाग’ लगायत फिल्म निर्देशन गरेका छन्।