आइतबार, साउन १७, २०८३

रङ बिनाको मौलिक होली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - होली भन्नेबित्तिकै आपसमा रङ दल्ने, लोला हान्ने भन्ने धेरैको बुझाइ हुन्छ। देशका विभिन्न भागमा एकआपसमा रङ दलेर, लोला हानेर होली पर्व मनाइरहँदा सुदूरपश्चिमेली समाजमा भने रङबिना नै पनि धुमधामका साथ होली पर्व मनाउने गरिन्छ। विशेषगरी पहाडी जिल्ला अछाम र अछामीको बसोबास रहने देशका विभिन्न भागमा मौलिक लोकसंस्कृति झल्किने सेतो पहिरनमा फूलमालासहित देउडा खेलेर होली मनाउने गरिएको छ।

अछामका गाउँ यतिबेला होलीमय त बनेकै छन्। त्यसबाहेक अछामीहरुको बाक्लो बस्ती रहेको कैलालीको टीकापुर, धनगढी, महेन्द्रनगर, बाँकेको नेपालगन्ज, काठमाडाैंको टीकाथली गायतका स्थानमा रङ बिनाको होली जारी छ।

सेतै लुगामा पुरुषहरुका दुई छुट्टाछुट्टै समूह गोलाकार आकारमा एउटै स्वर र लयमा देउडा गाएर होली खेल्ने अछामी संस्कृति रहेको छ। सेतो लुगा र त्यसैमाथि फूलको माला पहिरिएर देउडा गाउँदै खेलेको होलीको दृश्य निकै मनमोहक हुने गर्दछ। होलीमा गाइने देउडामा सबैभन्दा पहिले शिवको लीलाबाट सुरु हुने गर्दछ। अछामी होलीको सुरुवात अछामकै तत्कालीन कालीमाटीगडीका राजा भान शाहको पालामा भएको होलीका जानकार सहदेव रेग्मी बताउँछन्। भान शाहको बिहे कुमाउँ गढवालबाट भएकाले त्यहींबाट दाइजोका रुपमा होली भित्रिएको रेग्मीले सुनाए। जताजता अछामीहरु बसाइँ सरेर गए त्यतैतिर आफ्नो मौलिक पहिचान होली जोगाइराखेको पाइन्छ । अछामीहरुले खेल्ने अरुभन्दा विशेष प्रकारको होली अन्य समुदायले पनि चाख मानेर हेर्ने गर्दछन्।

‘रङरहितको होली भनेको अछामीको विशेष पहिचान हो, यसलाई जोगाइराख्न हामी जिल्ला बाहिर भएर पनि सक्रिय छाैं’, अछाम सेवा समाज धनगढीका अध्यक्ष कृष्णराज जोशीले भने, ‘वर्षको एकपटक होली खेल्नकै लागि पनि धनगढीमा रहेका अछामीहरुको बाक्लो जमघट हुन्छ।’ अछामपछिको सबैभन्दा बढी होली खेलिने स्थान हो कैलालीको टीकापुर। जसलाई मिनि अछामका नामले पनि चिनिन्छ। टीकापुर सांस्कतिक समाजका अध्यक्ष प्रेमबहादुर रावल टीकापुरमा खेलिने अछामी होलीको छुट्टै पहिचान रहेको बताउँछन्। मौलिक लोकसंस्कृतिले नै समाज बलियो बनाउने भएकाले अछाम छाडेर बाहिर बसे पनि आफ्नो मौलिक संस्कृति जगेर्ना गर्नु जरुरी भएको उनको भनाइ छ।

शिवरात्रिको दिन शिव मन्दिरबाट होली खेल्ने अनुमति मागेर ल्याएपछि मात्र होली खेलिने भएकाले होलीमा सबैभन्दा पहिले शिवलीलाको देउडा गाइने प्रचलन रहेको जानकारहरु बताउँछन्। शिवरात्रिको दिनदेखि होलीको औपचारिक सुरुवात गरिने भए पनि विशेष गरी अष्टमीको दिनबाट बेलुकीपख प्रत्येक गाउँमा होली खेल्ने प्रचलन छ। मेलको हाँगा काटेर त्यसमा रंगिचंगी ध्वजापताका लगाउने र त्यसलाई होली खेल्ने ठाउँमा चिरका रुपमा गाड्ने गरिन्छ। त्यही चिर पूर्णिमाको दिन होली खेलेर अन्त्यमा जलाउने प्रचलन छ।

होलीमा शिवलीलाका साथै विभिन्न धर्मसंस्कृति, रामलीला, कृष्णलीला, चारित्रिक मायाप्रेमका कुरा समेटिएर लेखिएका देउडा गाउने प्रचलन छ। फागुन महिना पर्ने भएकाले होलीमा असुरा र तोरीका फूलको माला लगाइने गरिन्छ।

जिल्लाभित्रै पनि होलीमा लगाउने पहिरन फरकफरक छ। लुगा सेतै भए पनि जिल्लाको भागेश्वर, सिद्धेश्वर, बैद्यनाथ, पायल, लुंग्रा, मार्कु, मष्टामाडाैं, गाज्रालगायतका गाउँमा जामा र टाउकोमा पगरी पहिरिएर होली खेल्ने चलन छ। अधिकांश पुरुष कामको सिलसिलामा बिदेशमा हुने भएकाले पुरुषको अभाव हुने गाउँमा भने होली खेल्न छुटेको पाइन्छ।

देउडाको साथमा पञ्चेबाजासमेत बजाइने गर्नाले होली थप रमाइलो हुन्छ। नयाँ पुस्तामा मौलिक लोकसंस्कृति अनुसार भन्दा पनि एकआपसमा रङ दलेर होली खेल्ने प्रचलन बढेकाले परम्परागत होली लोप हुने चिन्ता व्यक्त गर्छन् सहदेव रेग्मी। आयातित संस्कृति अंगाल्नुभन्दा पनि नयाँ पुस्ताले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नतर्फ ध्यान दिनुपर्ने रेग्मीको सुझाव छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।