आइतबार, साउन १७, २०८३

मन्त्री भएको एक वर्षमा के गरे रघुवीर महासेठले ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ । 

मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित गरेर काम अघि बढाइएको मन्त्रालयले जनाएको छ । 

मध्यपहाडी लोकमार्गमा ७० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । नारायणगढ–मुग्लिन सडक ३२ किलोमिटर र मदन भण्डारी राजमार्गमा १२ किलोमिटर सडक कालोपत्र भएको छ । 

मन्त्रालयले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री महासेठले राष्ट्रिय गौरवका आयोजनामा यस आवमा विनियोजित बजेट खर्च भइसकेर अर्थ मन्त्रालयमा थप रकमको माग गरिएको बताए । उनका अनुसार मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोर र हुलाकी राजमार्ग दु्रतगतिमा निर्माणकार्य भइरहेकाले अर्थ मन्त्रालयमा थप रकम माग भएको हो । 

पछिल्लो एक वर्षमा एक हजार ११८ किलोमिटर सडक ग्राभेल (खण्डस्मित) भएको मन्त्रालयले जनाएको छ । मध्यपहाडी लोकमार्गमा ९० किलोमिटर र मदन भण्डारी राजमार्गको धरान–चतरा–हेटौँडा खण्डमा १०३ किलोमिटरमा ग्राभेल सम्पन्न भएको छ । यस अवधिमा ७२१ किलोमिटर सडकको ट्र्याक खोलिएको छ । मन्त्री महासेठले भने, “कालीगण्डकी करिडोर, कोशी सडक, हिल्सा सिमीकोटलगायतका ठाउँमा ट्र्याक खोल्ने काम भएको छ ।” 

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले त्रिपुरेश्वरदेखि नागढुङ्गा सडक आगामी एक महीनामा, चावहिलदेखि साँखु सडक आगामी दुई महीनामा सम्पन्न गर्ने मन्त्रालयले जनाएको छ । 

विगतका वर्षहरुमा भन्दा यो वर्ष झण्डै दोब्बर सडक, पुलको निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । एक वर्षमा ४०÷५० पुलको मात्रै निर्माण हुने गरेकामा यो वर्ष ९४ पुलको निर्माण सम्पन्न भएको हो । आगामी वर्ष २०० पुल निर्माण सम्पन्न गर्ने मन्त्रालयको योजना छ । उनले भने, “तीन सय पुल सक्ने लक्ष्य लिइनेछ, कम्तीमा २०० सम्पन्न हुनेछ ।” 

यो एक वर्षमा यातायातका क्षेत्रमा उल्लेखनीय काम भएको मन्त्री महासेठले औँल्याउनुभयो । ‘सिण्डिकेट’को अन्त्य भएकाले यात्रुलाई सहज भएको उनले बताए । सवारीसाधनमा यात्रु झुण्डिएर यात्रा गर्नुलाई कतिपयले ‘सिण्डिकेट’ अन्त्य नभएको भन्ने गरेको उनले बताए । सार्वजनिक सवारी जिल्ला प्रशासन कार्यालयमा गैरसरकारी संस्थाका रूपमा दर्ता हुँदै आएकामा अहिले कम्पनीमा दर्ता भइरहेको उनले जानकारी दिए । उनले भने, “सार्वजनिक सवारीमा व्यवसायीको एकाधिकार तोडिनु नै उपलब्धि हो ।” 

छोटो र लामो दूरीमा रेलमार्गका लागि अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ । नौ सय ४५ किलोमिटर लम्बाइको मेची– महाकाली रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन सम्पन्न भएको छ । काठमाडौँ उपत्यका मेट्रो रेलअन्तर्गत सम्भाव्यता अध्ययन गर्न इच्छुक परामर्शदातालाई सूचीकृत गर्न मूल्याङ्कन भइरहेको मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताए । 

उनका अनुसार छिमेकी देशसँग जोड्ने रेलमार्ग सम्भाव्यता अध्ययन भइरहेको छ । उनले भने, “केरुङ–काठमाडौँ रेलमार्गको चीन र वीरगञ्ज–काठमाडौँ रेलमार्ग भारत सरकारको सहयोगमा सम्भाव्यता अध्ययन भइरहेको छ ।” 

जल यातायाततर्फ नेपाल पानीजहाज कार्यालयको स्थापना भएको छ । कोशी र गण्डकी नदीमा जल यातायात सञ्चालन गर्न नेपाल र भारतको संयुक्त टोलीले प्राविधिक अध्ययन गरिरहेको प्रवक्ता सापकोटाले बताए । 

सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले काठमाडौँ सडकमा सुधारको काम भइरहेको बताए । उनका अनुसार काठमाडौँ उपत्यकामा काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा धुलो कम गर्ने काम भइरहेको छ । सडक बत्ती व्यवस्थापन र सडक चिह्नलगायतका काम भइरहेको उनले जानकारी दिए । मन्त्रालयको हालसम्मको समष्टिगत प्रगति १७ दशमलव १० प्रतिशत रहेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।