आइतबार, साउन १७, २०८३

सेलीब्रेटीको रंगीन होली : को के गर्दैछन् ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- होली ! रंगैरंगको पर्व। फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासका साथ मनाइन्छ। यसलाई आपसी मेलमिलाप र सद्भावको पर्वका रुपमा लिइन्छ। होलीमा सबै हिन्दु धर्मावलम्बीहरु रंगिने गर्छन्। विभिन्न स्थानमा होली विशेष कार्यक्रम आयोजना पनि गरिएको हुन्छ। होली रंगको पर्व भएकाले सबै यसलाई रंगीन बनाउने ध्यानमा हुन्छन्।

होलीमा विभिन्न कार्यक्रम गरिने भएकाले सेलिब्रेटीलाई पनि भ्याइनभ्याइ हुन्छ। विभिन्न कार्यक्रम र मिडिया हाउसहरुमा सेलिब्रेटीहरुलाई विशेष आकर्षणका रुपमा आमन्त्रण गरिने भएकाले पनि उनीहरुको व्यस्तता अन्य दिनभन्दा यस दिन बढी हुन्छ। यसपटक पनि सेलिब्रेटीहरुका आ–आफ्नै खाले होली विशेष कार्यक्रम छन्। सेलीब्रेटीहरुले नेपाल समयसँग साटेको होली योजना यस्तो छ-

दीपाश्री निरौला (अभिनेत्री/निर्देशक)

होली सद्भावको पर्व हो। मलाई होली निकै मनपर्छ। म विराटनगर महानगरपालिकाको सद्भावना दूत हुँ। यसपालिको होली मैले विराटनगरमा मनाउने योजना बनाएकी छु। यो सद्भावनाको पर्व भएकाले सबैले त्यही रुपमा मनाउनुपर्छ। रंगको पर्व भएकाले होलीको दिन सबैको जीवन रंगले रंगिनुपर्छ। यो असत्यमाथि सत्यको जित भएको दिनको उल्लासमा मनाइने पर्व भएकाले मन सफा बनाउँछ। तराईमा त झनै होलीलाई उल्लासका साथ मनाउँछन्। ‘बुरा नमानो होली हे...’ भन्दै तराईमा होली मनाइन्छ। 

जितु नेपाल मुन्द्रे (हास्य कलाकार)

मलाई होली त्यति धेरै मन पर्दैन। तर पनि यो पर्व आफ्नो किसिमले शालीन रुपमा मनाउनुपर्छ। अरुको इच्छा विपरीत रंग छ्याप्नु हुँदैन। यो सद्भावको पर्व भएकाले सद्भाव बढ्ने रुपमा मनाउनुपर्छ। मेरो आफ्नो खासै प्रोग्राम नभए पनि अरुले रंग खेलेको हेरेर रमाउने योजनामा छु।

इन्दिरा जोशी (गायिका)

मलाई होली रमाइलो पर्व लाग्छ। रंगको पर्व भएकाले यो मलाई मन परको हो। होलीमा सकारात्मक सोच राख्ने। कसैसँग मनमुटाव छ भने पनि यो पर्वमा एक आपसमा रंग दलेर बिर्सिने। यसै दिन वैमनस्य दूर गर्ने गर्नुपर्छ। यो सद्भावको पर्व भएकाले सद्भावपूर्ण रुपबाट नै मनाउनुपर्छ। होलीको दिन म विराटनगरमा आयोजित एउटा कार्यक्रममा सरिक हुनेछु। 

मञ्जु पौडेल (गायिका/उद्घोषिका)

मलाई होली एकदमै मन पर्ने पर्व हो। कलरले सन्चो नगर्ने भएकाले मैले यसपालि होली खेल्ने योजना बनाएकी छैन। तर साथीहरुसँग सेलिब्रेसन गरेर होली मनाउने योजनामा छु। अरुले मनाएको हेरेर रम्ने छु। म होली सद्भावको पर्व भएकाले सद्भावपूर्ण तरिकाले मनाउन पनि सबैमा आग्रह गर्दछु। अरुलाई दुःख दिएर, लोला हानेर होली मनाउनु हुँदैन। यो सांस्कृतिक पर्व भएकाले हाम्रो परापूर्वकालदेखि चलिआएको संस्कृतिभित्र रहेर नै मनाउनुपर्छ। बटुवालाई लोला हानेर, रंग छ्यापेर इच्छाविपरीत होली मनाउनु हुँदैन। सम्यम बनेर होली खेल्नुपर्छ।

चन्द्र शर्मा (लोकगायक)

होलीको खासै योजना केही छैन। धापासीमा एउटा कार्यक्रम छ। राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानले पनि सामाखुसीमा होलीका अवसरमा एउटा कार्यक्रम गर्दै छ। साथीभाइसँग भेट्ने, रमाइलो गर्ने यीनै हुन् योजना। अहिले सानो छँदाको जस्तो रमाइलो हुँदैन। पहिले र अहिलेको होलीमा निकै फरक भइसक्यो। जे भए पनि यो एउटा सद्भावको पर्व हो। हर्षोउल्लासका साथ मनाउनुपर्छ। भावनात्मक रुपमा रंग खेल्नुपर्छ। कसैको इच्छा विपरीत रंग छ्याप्ने, लोला हिर्काउने काम गर्नु हुँदैन। 

अहिले देशमा हिमाल, पहाड, तराईका कुरा हुने गरेका छन्। जात जाति, भाषा भाषी, धर्मसंस्कृतिका कुरा हुने गरेका छन्। यो सद्भावको पर्व हो। यो सद्भावको पर्वले सबैका मन एकै ठाउँमा ल्याइदेवस्। देशमा शान्ति, अमनचयन कायम होस्। हत्या, हिंसा, चोरीडकैती, बलात्कारजस्ता घटनाको यो सद्भावको पर्वसँगै अन्त्य होस् भन्ने कामना गर्न चाहन्छु। 

दिक्पाल कार्की (नायक)

होली स्पेसल भनेर आफूले नै त्यस्तो कुनै योजना बनाएको छैन। तर थुप्रै ठाउँबाट निमन्त्रणा प्राप्त भएको छ। भ्याएजतिका कार्यक्रममा सरिक हुनेछु। बरु मंगलबार होटेल ह्यातमा मेरो एउटा कार्यक्रम सम्पन्न भयो। विगतमा करिश्मा मानन्धर दिदीको घरमा जम्मा भइन्थ्यो। यस वर्ष उहाँकोमा कार्यक्रम छैन। जहाँ जसरी भए पनि होलीमा निकै रमाइन्छ। मलाई यो पर्व सबै भन्दा मन पर्छ। दिल खोलेर रंगिन पाइने भएकाले पनि यो पर्व मलाई मन पर्ने गरेको हो। 

लक्ष्मी आचार्य (गायिका/मोडल)

म होलीमा साथीभाइसँग रमाइलो गर्ने योजनामा छु। विभिन्न टेलिभिजनहरुले बोलाएका छन्। ती कार्यक्रमहरुमा सरिक हुने योजना बनाएको छु। होली रंगको पर्व भएकाले उमंग आउँछ। वर्ष दिनमा आउने रंगको वर्षमा रंगीन पाउँदा मन औधी रमाउँछ। यो वर्षमा एकपटक आउने पर्व हो। त्यसैले कसैलाई अप्ठ्यारो नपर्ने गरी यो मनाउनुपर्छ। रंग आफंैमा राम्रो हुन्छ। त्यही रंगमा रंगीन पाउँदा मन चंगा हुन्छ। साथै म यो होलीसँगै हरेक नेपालीको जीवन पनि रंगियोस्। देशको मुहार पनि रंगियोस् भन्न चाहन्छु। सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई होलीको शुभकामना !

सरु गौतम (गायिका)

होलीको दिन थुप्रै कार्यक्रमहरु छन्। अन्नपूर्णले आयोजना गर्ने होली विशेष कार्यक्रममा सहभागी हुनेछु। त्यसपछि दुई तीन डिजे प्रोग्राम छन्। ती प्रोग्रामहरुमा पनि सहभागिता जनाउनेछु। वर्षमा एक पटक आउने रंगको पर्व भएकाले यसलाई रंगीन रुपमा नै मनाउने योजना छ। भरखरै मेरो ‘मेरो प्रेम प्रस्ताव’ बोलको गीत बजारमा आएकाले त्यसैको प्रमोसनमा व्यस्त छु । त्यसैले धेरै योजना बनाउन सकिएन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।