भक्तपुर - भक्तपुरको तचपाल दत्तात्रय मन्दिर नजिकै भीमसेन मन्दिर छ। यो मन्दिरमा फाल्गुण शुक्ल अष्टमीदेखि विशेष पूजा हुन्छ। पूजाका क्रममा भीमसेनको लिंग र द्रौपदीको योनी समागमलाई मन्दिरभित्रै राखिन्छ। यसलाई नेपालभाषामा ‘चिर स्वागु’ भनिन्छ।
काठमाडौंको वसन्तपुरमा चिर उठाए फागु अर्थात् होली सुरु भएसँगै भक्तपुरमा पनि भिमसेन र द्रौपदी समागम गरेपछि यो पर्व सुरु भएको मानिन्छ। सुन्दा अश्लील लाग्ने भक्तपुरको यो मान्यता निकै गहिरो छ।
समाजमा पहिलेपहिले यौन तथा प्रजनन शिक्षाको कमी थियो। यौनका विषयमा समाज खुलस्त थिएन। त्यसैले यौन शिक्षालाई देवीदेवताका माध्यमबाट दिने प्रचलन रहेको संस्कृतिविद् ओम धौभडेलले बताए।
कस्तो छ प्रचलन ?
करिब दुई हात लम्बाइ र ३० इन्च मोटाइ रहेको काठलाई भीमसेनको लिंग मानिन्छ। उक्त काठलाई फाल्गुण शुक्ल अष्टमीका दिन भीमसेनको लिंग मानेर घरैपिच्छे पूजा गरिन्छ। पूजाका क्रममा दान दिने पनि गरिन्छ। लिंगलाई तचपालमा रहेको भीमसेन मन्दिरमा लगिन्छ। रातो कपडामा पारिएको गोलो प्वाललाई लिंगको आमनेसामने राखिन्छ। उक्त कपडालाई द्रौपदीको योनी मानिएको छ। त्यसपछि लिंग धकेलिन्छ। लिंग रातो कपडाको गोलोभित्र छिराइन्छ। छिरेमा घरपरिवारमा झगडा नहुने जनविश्वास रहेको संस्कृतिविद् धौभडेल बताउँछन्।
त्यस्तै लिंगमा कपास अड्काइन्छ। लिंग धकेल्दा रातो कपडाको प्वाल छिर्दा खसेमा शुभ मानिन्छ। कपास वीर्यको संकेत हो। परापूर्व कालमा यौन र प्रजननलाई यसरी सिकाउनु हाम्रो परम्पराको सबल र सकारात्मक पक्ष रहेको दाबी संस्कृतिविद् धौभडेलको भनाइ छ।
कपडाको संगम गरी विधिवत् रूपमा होली सुरु हुन्छ। एक साता चल्ने पर्वमा पूर्णिमाको अघिल्लो दिनसम्म ‘गायजु’ थरका नेवारले भीमसेनको भजन गाउँछन्। यस क्रममा गाउने भजनको बेला यस्तो छ : ‘भीमसेन देया लज खङगलो वानला ल्यासे बिस्युवाने म्वायक सो झ्यला।’ यसको अर्थ हुन्छ : भीमसेनको लिंग देखेर तिम्रो मन लोभियो र तर्सिएर भाग्नुपर्यो।’
पूर्णिमामा दिनभर होली खेलेपछि साँझ तलेजु मन्दिरका भगवान् कृष्णलाई खटमा नगर परिक्रमा गराइन्छ। परिक्रमापछि भीमसेन मन्दिर अगाडि ल्याइन्छ। त्यसपछि भीमसेनको लिंगलाई बाहिर निकाली ब्रह्मायणी खोलामा लगेर धोइन्छ। भक्तपुरमा भीमसेनको लिंग बोक्ने प्रतिस्पर्धा नै चल्छ। जात्रामा लिंग बोकेमा पुत्रलाभ हुने जनविश्वास छ। पौराणिक कालमा महादेव पार्वतीको विवाह पनि वसन्त ऋतुमै भएको मान्यता छ।
यौन शिक्षाको कमी भएका कारण नवविवाहित जोडीलाई सम्भोगको तरिका सिकाएको हुन सक्ने विश्वास रहेको धौभडेलले बताए। उनले भने, ‘होलीको दिनमा लिंगलाई खोलामा लगेर पखालिनुको सांकेतिक अर्थ सम्भोगपछि अपनाउनुपर्ने सरसफाइ शिक्षा हो।’
किन भीमसेनसँगै सम्बन्धित छ ?
भक्तपुर नेवार समुदाय बाहुल्य क्षेत्र हो। त्यसैले यहाँका धेरै मानिस व्यापार व्यवसायमा संलग्न छन्। भीमसेनलाई यहाँ शक्तिको प्रतीक मानिन्छ। परापूर्वकालमा मानिसहरू व्यापारको सिलसिलामा टाढासम्म जानुपर्दथ्यो। टाढा जाँदा सुरक्षा समस्या हुने भएकाले व्यापारीहरु भीमसेनको पूजाआराधना गर्थे। यस्तो बेलामा भीमसेनले रक्षा गर्ने जनविश्वास छ।
सामाजिक पक्ष
शिशिर ऋतुको अन्त्य र वसन्त ऋतुको आगमनमा पर्छ फागुपूर्णिमा। वसन्त ऋतुमा प्रकृतिमा देखा पर्ने नयाँपनले वातावरणमा विशेष ऊर्जा थपिन्छ। वातावरणीय तथा प्राकृतिक प्रभावले गर्दा यौन जागरण बढ्ने मान्यता रही आएको छ।
जाडोपछिको न्यानोपनामा आउने ऊर्जा जागृत हुने र खेतीपातीबाट फुर्सदिलो हुने भएकाले शरीरमा ऊर्जा थपिने संस्कृतविद् धौभडेल बताउँछन्।
प्रेम र यौन भाव
होलीमा यौनरसको महत्त्व बढी हुन्छ। यसको पुष्टि होलीका अन्य गीतबाट पनि पाउन सकिन्छ। ‘अबिरया होली तंचाया ल्यासे, अबिर छगुं ख्व हिसी ढयेक ब्यु’ भन्ने गीत नेवारी समुदायमा निकै प्रचलित छ। अबिरको होली तिमी रिसायौ कि, अबिरले तिम्रो मुहार राम्रो बनाएको छ भन्दै नेवार समुदायमा होली खेलिन्छ।
केटाहरुले आफूलाई मन पर्ने केटीका अगाडि यस्तै गीत गाएर प्रेम प्रस्ताव गर्छन् । केटीले मानेमा उसको गालामा अबिर दलिन्छ भने नमानेमा अबिरको टीका मात्र लगाएर युवकहरू चित्त बुझाउँछन्।
नेवार समुदायमा गाउने अर्को गीत यस्तो छ : ‘होलिया मेला, मयजु मस्युला अबिर भचाः नः त्ये मज्युला’ अर्थात् होलीको बेलामा मायालाई थाहा छैन र? अबिर अलिकति पनि राख्नु हुन्न ।
त्यस्तै होलीमा यो गीत पनि गाइन्छ : ‘झ्या दकं तुँक मा व हे ल्यासे जित मा व ल्यासे मदेक : जा हे मनया’ यसको अर्थ झ्यालभरि तोरीको माला छ, त्यही तरूनी मलाई चाहिन्छ, त्यो तरूनी नपाएसम्म भातै खान्न’ भन्ने हो।
परापूर्व कालदेखि आएको यस्तो चलन महिलाप्रति बढी लक्षित छन्। तर, यसमा अहिले विकृति भित्रिन थालेको छ। यसलाई अनर्थ नलगाईकन निरन्तरता दिने हो भने आफ्नो मौलिक प्रचलन कायमै रहनेछ। होलीको शुभकामना।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४