काठमाडाैं - त्रिभुवन विमानस्थलबाट अवैध रुपमा सुन तस्करी हुने गरेको कुरा नौलो होइन। प्रहरीले सुन तस्करीमा संलग्नलाई विमानस्थबाट दिनहुँ जसो पक्राउ गरिरहेकै हुन्छ। यसैक्रममा प्रहरीले पुनः अवैध सुन तस्करीमा संलग्न चार जनालाई पक्राउ गरेको मंगलबार जानकारी दिएको छ।
विमानस्थलबाट अवैध रुपमा संकलन गरी लैजान लागेको करिब १० लाख १५ हजार १ सय रुपैयाँ मूल्य बराबरको सुनको बाला ४ थान सहित २ जना र विमानस्थलको गोल्डेन गेट एरियाबाट अवैध रुपमा संकलन गरी लैजान लागेको १७ लाख ४६ हजार ३ सय ९६ रुपैयाँ मूल्य बराबरको सुनको बाला ५ थान, मोबाइल ३ थान र ल्यापटप सहित २ जना गरी ४ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा चितवनका सुनिल राउत र बारा कलैया उपमहानगरपालिका ९ का संदिप पटेल तथा मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ का अर्पण केसी र खोटाङका मनोज राई रहेका छन्।
पक्राउ परेका ४ जनालाई उक्त सुन र सामानसहित आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४