सुर्खेत - नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले लगाएको प्रतिबन्धको समर्थन र विरोध भैरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले प्रतिबन्ध असंवैधानिक भएको बताएको छ। सुर्खेत आएका राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमसेर जवरा र डा. प्रकाशचन्द लोहनीले विप्लवको प्रतिबन्ध असंवैधानिक भएको बताएका छन्।
पत्रकारसँग कुरा गर्दै अध्यक्ष जवराले सरकारले विप्लवलाई लगाएको प्रतिबन्धका कारण देश फेरि द्वन्द्वमा फस्ने खतरा रहेको बताए। ‘विप्लवको प्रतिबन्ध असंवैधानिक हो।’ जवराले भने ‘सरकारको यो कदमले मुलुकमा फेरि द्वन्द्व निम्तिन्छ।’
उनले केही दिनअघि बसेको सुरक्षा परिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीलाई पनि प्रतिबन्ध लगाउने संकेत गरेको भन्दै सरकारको मनपरिविरुद्ध सडकमा उत्र्ने चेतावनी दिए। संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दा बोकेको आफ्नो पार्टीलाई पनि प्रतिबन्ध लगाउन संकेत गरेको भन्दै जवराले भने ‘प्रधानमन्त्रीले पुराना कुरा ल्याउने पार्टीलाई निमिट्यान्न पार्ने भनेका छन्, यदि त्यसो गरिए हामी प्रतिवाद गर्न तयार छौं।'
यस्तै जवराले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्नु जनताका लागि सबैभन्दा ठूलो धोका भएको बताएका छन्। ‘पैसामा विकेर ठूला दलालहरुले जबर्जस्ती धर्मनिरपेक्ष घोषणा गरे।’ सुर्खेतका सञ्चारकर्मीसँग जवराले भने, ‘धर्म निरपेक्षता राष्ट्र घोषणा गर्नु जनताको लागि सबैभन्दा ठूलो धोका थियो।’ जनताको साथ र सहयोग पाए नेपाल हिन्दु राष्ट्र कामय गर्न आगामी जेठदेखि आन्दोलन गर्ने उनले बताए।
देशका राष्ट्रपतिसमेत निष्पक्ष हुन नसकेको बताउँदै संवैधानिक राजतन्त्रको आवश्यकता खड्किएको उनको भनाई छ। राजसंस्थासहितको प्रजातन्त्र र सनातन हिन्दु राष्ट्रको मुद्दा बोक्दै राप्रपा संयुक्तले विराटनगरबाट सुरु गरेको कार्यकर्ता भेटघाट र प्रशिक्षण सोमबारनै सुर्खेत आइपुगेको छ। जवरा र लोहनीले पार्टी एकिकरण गरेपछि कार्यकर्ता भेटघाटलाई तिब्रता दिएका छन्। सुर्खेतमा भएको कार्यकर्ता भेटघाट र प्रशिक्षण कार्यक्रम कर्णाली प्रदेशकै पहिलो कार्यक्रम हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४