काठमाडौं– होली पर्वलाई लक्षित गरेर नेपाल प्रहरीले राजधानीमा विशेष सुरक्षा योजना ल्याएको छ। महानगरीय प्रहरी परिसर काठमाडाैं र जिल्ला सुरक्षा परिषद्ले होली पर्वलाई मर्यादित र सुरक्षित बनाउने निर्णय गरेको हो।
सुरक्षा समितिको निर्णयअनुसार महानगरीय प्रहरी परिसर काठमाडांैले होली पर्वमा अपरिचित व्यक्तिलाई जबरजस्ती लोला हान्ने, रंग दल्ने र फोहोर छ्याप्ने लगायतका अमर्यादित क्रियाकलाप गर्ने जोसुकैलाई तत्काल नियन्त्रणमा लिई सार्वजनिक अपराधमा मुद्दा चलाउने जनाएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्तकुमार लामाले विगतका फागु पूर्णिमामा ससाना बालबालिकाले समेत पैदल यात्रुलाई लोला हान्ने, जबरजस्ती रंग दल्ने र फोहर अण्डालगायतका वस्तु हान्ने गरिएकाले यसपटक बालबालिकाले त्यस्तो अमर्यादित गरेमा उनका अभिभावकलाई नै नियन्त्रणमा लिई सार्वजनिक अपराधमा मुद्दा चलाइने बताए।
लामाले भने, ‘होलीमा जबरजस्ती लोला पानी वा अन्य वस्तु प्रयोग गर्न मिल्दैन, यस्तो उत्छृंखल गर्नु, सार्वजनिक आवतजावतमा अवरोध गर्नु वा होेलीको नाममा हानिएको कुनै वस्तुले कसलाई चोटपटक लागे हामी तत्काल नियन्त्रणमा लिन्छौं र कारबाही अगाडि बढाउँछौं। साना छोराछोरीले यस्तो गतिविधि गरे उनका अभिभावकलाई नै नियन्त्रणमा लिई मुद्दा अगाडि बढाउँछौं।’
महानगरीय प्रहरी परिसर काठमाडौंले होली पर्व थप मर्यादित र सुरक्षित बनाउन विगत एक हप्तादेखि जनचेतना जगाउने उद्देश्यले ५ किसिमका कार्यक्रम गर्दै आएको छ। प्रहरीले टोलटोलमा गएर माइकिङ गर्दै सूचना प्रवाह गरेको छ भने विभिन्न विद्यालयमा पुगेर जनचेतनामूलक कार्यक्रम गरेको छ। महानगरीय प्रहरी परिसरले समुदाय प्रहरी– साझेदारीअन्तर्गत विभिन्न कार्यक्रम अगाडि बढाएको जनाएको छ।
होली पर्व आउनु केही समय पहिल्यैदेखि महिला र विदेशी नागरिकलाई उनीहरुको अनुमतिबिना लोला, पानी र फोहर अण्डा हान्ने जस्ता अर्मयादित क्रियाकलाप बढेपछि प्रहरीले विशेष कार्यक्रम अगाडि बढाएको हो।
महानगरीय प्रहरी परिसरले होली पर्वको सुरक्षाका लागि १७११ जना प्रहरी खटाएको छ। १०७ पिकेटअन्तर्गत मोबाइल टोली २० वटा, रिजर्भ टोली ११ बटा, सिआरबी टोली ४६ वटा १३० बढी सादा पोसाकका प्रहरी, क्युआटी ९६ वटा र ४६ जनालाई पैदल गस्तीमा खटाएको छ।
होली आउनुअघि अमर्यादित क्रियाकलाप गरेको आरोपमा तीनजना पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४