धनगढी- अछामको मेल्लेख गाउँपालिका-३ को ठाँटी वडामा तीन दशकमा तीनपटक जग्गाको नाप जाँच हुँदा पनि स्थानीयले जग्गाधनी पुर्जा पाउन सकेका छैनन् ।
आफूसँग भएको जग्गाको कुनै प्रमाण नहुँदा करिव चार सय घरधुरी कानुनी रुपमा जग्गा कारोबार गर्न सकिरहेका छैनन् । तीन दशकमा तीनै पटक जग्गाको नाप नक्सा हुँदा पनि स्थानीयले अहिले सम्म जग्गाधनी पुर्जा पाउन नसक्दा मारमा परेका छन् ।
०४५/४६ सालमा तत्कालिन ठाँटी गाविसको पुरै जग्गा नाप नक्सा कार्य सम्पन्न भए पनि छिमेकी कुस्कोट गाविस वडा नम्बर ३ सँगको सिमा विवाद हुँदा जग्गा दर्ता रोकिएको थियो । तत्कालिन दुई गाविस बीचको सीमा विवाद भेलाबाट ०५५ सालमा आएर दुबै गाविसले आधा–आधा जग्गा लिने गरी सहमति भएको ठाँटीका दिलबहादुर शाहले सुनाए । उक्त सहमति पछि ०५५ सालमै सबै जग्गाको नाप नक्सा सम्पन्न भएको उनले जानकारी दिए ।
'जग्गाको सबै नाप जाँच कार्य सकिएर मालपोतले जग्गा दर्ताका लागि सात दिने सुचना निकाल्यो' स्थानीय हेमराज शाहले भने–'जग्गा दर्ता गर्न मालपोत जाँदा कार्यालय प्रमुख नहुँदा दर्ता हुन सकेन ।' त्यससँगै देशमा सशस्त्र द्वन्द्व चल्यो र ०५८ सालमा सदरमुकाम ध्वस्त हुँदा भएभरका सबै प्रमाण नष्ट भएको उनले सुनाए । तत्कालिन माओवादी आक्रमणबाट जिल्ला सदरमुकाममा रहेको नापी मालपोत कार्यालय ध्वस्त भएपछि जग्गा सम्बन्धि अभिलेख नष्ट हुँदा जग्गा दर्ताको प्रक्रिया पनि अवरुद्ध बनेको थियो ।

पछिल्लो सयम बिशेष नापी टोलीले ०७२ सालमा जग्गाको पुनः नाप नक्सा गरी आफूसँग भएका आधार प्रमाण ल्याएर जग्गा दर्ताका लागि आउन सूचना जारी गरेपनि प्रमाणका नहुँदा जग्गाको पुर्जा लिन नसकिएको वडा अध्यक्ष केशबहादुर शाहले बताए । 'नापी टोलीले पुरानो जग्गा सम्बन्धि कागजपत्र खोज्दा नभेटिएपछि कसैको नि जग्गा दर्ता हुन सकेको छैन' शाहले भने । सशस्त्र द्वन्द्वको कारणले पुरै जिल्लाको जग्गा सम्बन्धि प्रमाण नष्ट भएकाले जग्गा दर्ताका लागि मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्ने देखिएको छ ।
जग्गा दर्ता प्रक्रिया पूरा गर्न स्थानीय आमवेला, वडा कार्यालय, गाउँपालिका, जिल्ला प्रशासन, सर्वदलिय बैठक, विशेष नापी कार्यालयबाट निर्णय गरेर नापी बिभाग, भूमिसुधार मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयमा थुप्रै पटक सिफारिस दर्ता गरिए पनि हाल सम्म कुनै निर्णय हुन नसकेको हेमराज शाहले बताए ।
पछिल्लो समय अछाम जिल्लाभर नाप नक्सा भए पनि व्यक्तिका नाममा जग्गा भएको कागज नभेटिएपछि लालपुर्जा वितरण गर्न नसकेको नापी कार्यालयले जनाएको छ । जोसंग जग्गा भोगचलन गरेको र ०५८ साल अगाडी जग्गाको राजस्व तिरेको कुनै प्रमाण छैन त्यस्तालाई लालपुर्जा दिन नसकिएको सो कार्यालयले जनाएको छ ।
पुस्तौंदेखि जग्गा भोगचलन गरिरहे भए पनि घरजग्गाको स्वामित्व आफूहरूसँग नहुँदा बेचबिखन गर्न र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनसमेत नपाएको रामबहादुर शाहले सुनाए । स्थानीय बासिन्दाले सरोकारवाला निकायसँंग पहल गर्दा पनि गम्भीर रूपमा नलिएको गुनासो गरेका छन् । 'कानुनी रूपमा हामीसँग नागरिकता छ, तर बसोबास गरेको घरजग्गाको लालपुर्जा छैन,' शाहले भने, 'आफू बसेको घरजग्गाको कानुनी कागजात नहुँदा अप्ठेरो परेको छ ।'