काठमाडौं- पत्नी सीता दाहालको उपचारका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका पुगेका छन् । छोरी ज्वाइँ र पत्नी सीतासहित शुक्रबार साँझ अमेरिका प्रस्थान गरेका उनी मंगलबार बिहान अमेरिका पुगेका हुन् ।
प्रचण्डकी छोरी तथा चितवन महानगरपालिकाका मेयर रेणु दाहालले मंगलबार बिहान अमेरिका पुगेको जानकारी दिइन् । पटक पटक भारत, सिंगापुरलगातका देशमा लगेर उपचार गरेपनि समस्या समाधान नभएपछि प्रचण्डले पत्नी सीता दाहाललाई उपचारका लागि अमेरिका लगेका हुन् ।
अब सीतालाई अस्पतालमा स्वास्थ्य परीक्षणका लागि लगिने समेत छोरी रेणु दाहालले जानकारी दिइन । उनको अमेरिकाको जोन हप्किङ्स् अस्पतालमा उपचार गरिने जनाइएको छ । प्रचण्ड पत्नी सीतालाई वंशानुगत पार्किन्सन भएको चिकित्सकले बताएका छन्।
सीता सुगर र उच्च रक्तचापबाट समेत पीडित छिन् । छोरा प्रकाशको गत वर्ष निधन भएपछि सीताको स्वास्थ्य विग्रिदै गएको थियो । प्रकाशको २०७४ मंसिरमा निधन भएको थियो । बिगत एक बर्षदेखि सीताको स्वस्थ्यमा पटक पटक समस्या आएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४