आइतबार, साउन १७, २०८३

अखबार : अमेरिका लैजाने नाममा रोकिएन ठगी धन्दा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् । 

आजको कान्तिपुर दैनिकले मानव तस्करहरुले अमेरिका लैजाने नाममा युवालाई ठग्ने क्रम बढेको विषयलाई मुख्य समाचार बनाएको छ । पीडितलाई नै बिचौलिया बनाएर अढाई करोड ठगी शीर्षकमा खबर लेखेको छ । 

पछिल्लो पटक रोल्पा  र दाङका ५ युवाले यही अमेरिका लैजाने तस्करहरुको फन्दामा परेर झन्डै साढे २ करोड रुपैयाँ डुवाएका छन् । यसअघि जस्तै यो ठगीमा पनि कलाकारको अवरणमा अवैध धन्दा गरिरहेका सुदर्शन गौतम जोडिएको समाचारमा जनाइएको छ । उनैले हैटी पुर्याएर अलपत्र पारेका युवाले डुबेको रकम उठाउने उपायका रुपमा थप युवा ठगेको खुलेको छ । 

यस्तै अमेरिकाले कबुल गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौताअन्तर्गतको करिब ५६ अर्ब रुपैयाँ सहयोगका लागि नेपालसँग सर्त राखेको विषयलाई पनि कान्तिपुरले प्राथमिकताका साथ छापेको छ । अमेरिकाले उत्तर कोरियाविरुद्ध नाकाबन्दीलाई समर्थन गर्नुपर्ने र तिब्बती शरणार्थीलाई चीन फर्काउन नपाइने सर्तमा सहयोग गर्न लागेको समाचारमा उल्लेख छ । 

आजको नागरिक दैनिकले मुख्य उत्पादन करारमा दिन नपाइने शीर्षकमा मुख्य समाचार छापेको छ।

समाचारमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयकको विषय उठाइएको छ । लगानीकर्ताले आफ्नो मुख्य उत्पादन आफैं नगरेर अर्को कम्पनीलाई उत्पादनलगायत बजारीकरण र वितरण गर्न अनुमति दिँदै आएकोमा नयाँ कानुनले उत्पादनको काम अरुलाई दिन रोक्ने भएको छ । उत्पादनको जिम्मा अरुलाई करारमा दिएर व्यापार मात्र गर्ने प्रवृत्ति रोक्ने विधेयकको लक्ष्य रहेको समाचारमा जनाइएको छ । 

यस्तै प्रधानमन्त्री केपी शर्मा ओली सरकारका महत्वपूर्ण निकायहरु आफूमातहत राखेर शक्ति सञ्चयतर्फ लागेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।

राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, महान्यायाधिकक्ताको कार्यालयलगायत १८ वटा निकायलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएर आफूलाई शक्तिशाली प्रधानमन्त्री सावित गर्न उनी लागि परेको समाचारमा उल्लेख छ ।

सोही अनुसार प्रधानमन्त्री ओलीले पछिल्लो पटक आफैं अध्यक्ष रहेको राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकमाफर्त सेना परिचालनको अधिकार पनि आफैंमा राख्नेगरी मस्यौदा तयार गरी संसदमा दर्ता गराएका छन् । तर, नेपाली कांग्रेसले उक्त कदमको विरोध गरेको छ । कांग्रेसकै विरोधपछि कार्यसूचीबाट विधेयक हटाइएको छ ।

यस्तै आजको अन्नपूर्ण पोस्ट्ले श्रम मन्त्रालयले श्रम स्वीकृतिका लागि प्रत्येक प्रदेशका कार्यालय स्थापना गरेपनि सेवाग्राहीले सहुलियत नपाएको विषयलाई मुख्य समाचार बनाएको छ ।

पहिला मुड्की अनि श्रमस्वीकृति शीर्षकमा खबर लेखेको उसले वैदेशिक रोजगारमा जाने नेपाली कामदारले स्वदेशमै सास्ती खेप्नुपर्ने अवस्था छ भने विदेशमा के हालत होला भनी प्रश्न खडा गरेको छ । 

आजको नयाँ पत्रिकाले भने सयथरी पुल एउटै हाल शीर्षकमा मुख्य समाचार छापेको छ । मेचीदेखि कालीसम्म पुलको बेहाल, बजेटमा ठेकेदारको मस्ती, जनतालाई पुरानै सास्ती रहेको समाचारमा उल्लेख गरिएको छ। 

संखुवासभामा खोलाको चौडाइभन्दा ८२ मिटर छोटो पुल बनेपछि पुल नै अलपत्र अवस्थामा पुगेको छ । यो पुल २५ असार २०७० मै निर्माण सम्पन्न हुनुपर्ने हो । १३ करोड ५ लाखमा पुल बनाउने सम्झौता भएपनि ८ वर्षसम्म ७ पिलर मात्र ढड्याइएको छ । त्यस्तै महोत्तरीको रातु खोलामा पप्पु कन्स्ट्रक्सनको रमिता देखिन्छ ।

४ वर्षअघि निर्माणको ठेक्क लिएको कन्स्ट्रक्सनले अहिलेसम्म काम सम्पन्न गरेको छैन् । झापाको गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने पुलको अवस्था पनि उस्तै रहेको समाचारमा जनाइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।