काठमाडौं- नेपाल विद्युत प्राधिकरण, रत्नपार्क वितरण केन्द्रमा कार्यरत तत्कालीन लेखापाल उमेशकुमार महतले एक करोड रुपैयाँ हिनामिना गरेको भेटिएको छ। उनले केन्द्रका प्रमुख मनोजकुमार सिंह समेतको मिलेमतोमा ललितपुर वितरण केन्द्रमा सरुवा भएर जाँदा बरबुझारथ समेत नगरी गएको र ललितपुरमा समेत निजले २० लाख रकम हिनामिना गरेको सम्बन्धमा छानविन गर्दा सो तथ्य फेला परेको हो।
उनले छानविन समितिलाई नै प्रभावमा पारी ३० लाख रुपैयाँ मात्र तिरेर सफाइ दिन लागेको भन्ने समेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा ठूलाे अर्थिक अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटाएको हाे।
अयोगका अनुसार लेखापाल महतले प्राधिकरण रत्नपार्क वितरण केन्द्रमा कार्यरत रँहदा ‘बैंक रिकन्सिलेशन स्टेट्मेन्ट’ तयार गर्दा वास्तविक भौचरलाई उनी आफैंले परिवर्तन गरी लेखा प्रमुख र कार्यालय प्रमुखलाई जानकारी नगराइ ‘क्यासबुक मा पोस्टीङ’ गरी ‘क्यासबुक’को रकमभन्दा बढी रकम बैंकबाट भुक्तानी लिएका थिए। सुपरभाइजरको रकम भुक्तान भैसकेपछि पुनः उनकै नाममा १२ लाख ९३ हजार ४९२ रुपैयाँको ‘बेरियर’ चेक काटी भुक्तानी लिएका थिए। भुक्तानी गर्ने क्रममा कर्मचारीहरूका रकम भुक्तानी गर्न भौचर तयार गरी लेखा प्रमुख र कार्यालय प्रमुखबाट हस्ताक्षर गराइ आफ्नै नाममा भुक्तानी लिइएको अायाेगले फेला पारेकाे छ।
त्यसपछि यथार्थ भौचरलाई ‘डिलिट’ गरी पूर्व भौचरबाट बिलहरू झिकी सोही नम्बरमा अर्को घटी रकमको भौचर बनाई ‘सीएआइएस’मा पोष्टिङ गर्ने र केही समयपश्चात पुनः झिकीएको सक्कल कागजात (बिल) को आधारमा अर्को भौचर तयार गरी सम्बन्धित कर्मचारीलाई भुक्तानी गर्ने गरेको भेटिएकाे छ। कर्मचारीको तलब तथा निवृत्तिभरण भुक्तानी गर्ने क्रममा भौचर तयार गर्दा कुनै खर्च प्रमाण बेगर ( खर्च समायोजन भनी) खर्च लेखाङ्न गरी आफ्नो नाममा चेक बनाइ भुक्तानी लिने गरेको फेला परेको अयोगको भनाइ छ। अायाेगले ती कार्यहरुबाट ५२ लाख १३ हजार ५९० रूपैयाँ बराबरको सरकारी सम्पत्तिको बदनियतपूर्वक हिनामिना, हानिनोक्सानी गरेको पत्ता लगाएकाे छ।
उनले रकम निजी प्रयोगमा लगाएको प्रमाणसहित पुष्टि हुन आएको हुँदा कानून बमोजिमको कसुर अपराध हिनामिना गरेको बिगो ५२ लाख १३ हजार ५९० रुपैयाँ कायम गरी सजायसहितको मागदाबी गर्दै आयोगले विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरेको प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४