काठमाडौं- ‘खल्ती डिजिटल वालेटले सोमबारबाट क्यु-आर कोडमा आधारित डिजिटल टिकेटिङ सेवाको औपचारिक रुपमा शुरुवात गरेको छ। देशका सबै प्रकारका कार्यक्रमका आयोजकहरुले आफ्नो कार्यक्रम तथा इभेन्ट्सको बारेमा खल्तीको टिकेटिङ प्रणालीमा जानकारी प्रकाशन गर्न सक्नुका साथै कार्यक्रमका दर्शक तथा सहभागीहरुले खल्ती एप तथा वेबसाइट प्रयोग गरी कार्यक्रमहरुको डिजिटल टिकट किन्न र अनलाइनबाटै पैसा भुक्तानी गर्न सक्ने जनाइएको छ।
डिजिटल प्रणालीमा आधारित उक्त टिकेटिङ र भुक्तानी सेवाले कार्यक्रम आयोजकका साथै दर्शक तथा सहभागीहरुलाई सहजता प्रदान गर्ने अपेक्षा कम्पनीले गरेको छ। खेलकुद प्रतियोगिता, म्युजिक कन्सर्टका साथै अन्य विविध प्रकारका कार्यक्रमहरुको टिकट खल्तीको सिस्टममा उपलब्ध हुने जनाइएको छ।
उक्त सेवाको औपचारिक शुरुवात गर्दै खल्तीका निर्देशक अमित अग्रवालले कुनै पनि कार्यक्रमहरुमा प्रवेश तथा अवलोकन गर्न बोझिलो नहोस् भन्ने हेतुले खल्तीले डिजिटल टिकेटिङ सेवा सुचारु गरेको बताए। ‘हामीलाई आशा छ खल्तीले ल्याएको यो सेवामार्फत अब कार्यक्रम आयोजकहरुको बोझ हटेर जानेछ,’ उनले भने ‘त्यस्तै, कार्यक्रमका सहभागी तथा दर्शकहरुले पनि आफ्नो मोबाइलबाटै सहजतापूर्ण तरिकाले टिकट बुक तथा पैसा भुक्तानी गर्न सक्नुहुनेछ।’
खल्तीमार्फत टिकट किन्दा प्रत्येक टिकटमा टिकटको मूल्यको पचास प्रतिशतसम्म क्यासव्याकको व्यवस्था समेत गरिएको निर्देशक अग्रवालले जानकारी दिइएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४