काठमाडौँ- सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको विषयका कांग्रेसले विरोध जनाएको छ ।
कांग्रेसले विज्ञप्ति जारी गर्दै सरकारले वार्ता र छलफलको बाटो छाडेर निषेधको बाटो रोज्नु घातक भएको जनाएको हो । उसले सबै खाले विमतिको समाधान राजनैतिक संवादको माध्यमबाट खोज्न सकिने र शान्ति, सहमति एवं सहकार्यको मार्गबाट अघि बढ्नु पर्नेमा जोड दिएको छ ।
असन्तुष्ट समुहलाई वार्तामा ल्याएर मुलुकको हितअनुरुप सहमती गर्न पनि कांग्रेसले सरकारलाई सुझाव दिएको छ । नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व हो, तर त्यसका नाममा संविधान विपरीत निषेधको बाटोबाट समाधानमा पुग्न नसकिने कांग्रेसले विज्ञप्तिमा उल्लखेख गरेको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति मार्फत कांग्रेसको साझा विश्वास र साझा धारणा ‘शान्तिपूर्ण वार्ताबाट शान्तिपूर्ण समाधान’ रहेको तथ्य पुनः प्रस्ट्याउँदै लामो हिंसाबाट जर्जर भएर भर्खरै शान्तिको श्वास फेरिरहेको मुलुकमा फेरि नागरिक जीवनमाथि खेलवाड नगर्न सचेत गराएका छन् ।
कांग्रेसले विज्ञप्तिमार्फत नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतङ्कको बाटो परित्याग गरी शान्तिपूर्ण राजनीतिमा आउन सार्वजनिक अपिल गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४