कास्की- विभिन्न चार सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले गण्डकी मेडिकल कलेज तथा अस्पतालमा लगाएको ताला खोले पनि सञ्चालकले कलेज चलाउन आनाकानी गरेका छन् ।
शनिबार प्रहरीको रोहवरमा विद्यार्थीले ताला खोले पनि सञ्चालकले विद्यार्थीसँग बदला लिनका लागि कलेज र अस्पताल सञ्चालन गर्न अटेर गरेका छन् । मुख्य सञ्चालक खुमा अर्याल फरार छन् भने कलेज र अस्पताल सञ्चालन अनिश्चित बनेको छ । अहिलेसम्म सञ्चालकहरुले कलेज र अस्पताल सञ्चालन बारे सामान्य छलफल समेत गरेका छैनन् ।
कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थीले गएको माघ १७ देखि कलेज प्रशासन र अस्पतालको बहिरङ्ग विभागमा तालाबन्दी गरेका थिए । कानूनी प्रक्रियामा आफ्ना मागहरु प्रवेश गरेको र नियमनकारी निकायको प्रतिवेदन नआउञ्जेलसम्म आन्दोलन स्थगित गरिएको विद्यार्थीहरुले जनाएका छन् ।
ताला खुलेपनि पठन पाठन सञ्चालन गर्ने विषयमा संचालक बेमतलवी बनेपछि विद्यार्थीहरु थप चिन्तित देखिन थालेका छन् ।
एमबिबिएस अध्ययनरत विद्यार्थीको परीक्षा यही चैत २१ गतेदेखि शुरु हुने भएकाले पनि परीक्षामा सहभागी हुनका लागि उनीहरु ताला खुलाउन सहमत भएका हुन् । मागमा कलेज प्रशासनबाट सुनुवाइ नभएपछि विद्यार्थीले सञ्चालक तथा कर्मचारीविरुद्ध फागुन २१ गते ठगीको उजुरी दर्ता गरेका थिए ।
विद्यार्थीको उजुरीपछि प्रहरीले कलेजका अध्यक्ष खुमाप्रसाद अर्याललगायत ११ जनालाई फागुन २३ गते पक्राउ पुर्जी जारी गरेको थियो । कलेजका पूर्वप्रमुख प्रशासकीय अधिकृत सन्तोष खनाल र कर्मचारी लक्ष्मण शर्मा पक्राउ परेर छन् भने बाँकी फरार रहेको प्रहरीको भनाइ छ ।
पक्राउ पुर्जीविरुद्ध कलेजका अध्यक्ष अर्यालसहितका छ जनाले वारेसमार्फत उच्च अदालत पोखरामा निषेधाज्ञा समेतको अन्तरिम आदेश माग गरी रिट दायर गरेकामा अदालते फागुन ३० गते अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४