हिमालयको काखमा अवस्थित हिन्दू राज्य नेपालमा अनेकौं सिद्धमहात्मा भौतिक देह लिई तपस्यारत हुने गरेको पुराण तथा इतिहासमा उल्लेख छ। साधुमहात्माको दर्शनले मात्र पनि पुण्य प्राप्त हुन्छ भन्ने मान्यता छ। कुन साधुको संगत गर्नाले हामीले जीवनोपयोगी मार्गदर्शन पाउन सक्छौं र कुनको संगत गर्नाले हामी बिग्रन्छौं अनि वल्लो घाटको न पल्लो तिरको अवस्थामा पुग्छौं भन्नेमा भने विवेक प्रयोग गर्नुपर्ने हुन्छ।
आजभन्दा झन्डै ५५ वर्षअघि २०२१ साल जेठमा घरमा श्रीमद्भागवत् सप्ताह महायज्ञ कार्यक्रम थियो। सप्ताह यज्ञको पूर्णाहूति भएपछि पिता माधवप्रसादले श्री शिवपुरी बाबाले तपस्या गर्नुभएको शिवपुरी शिखरमा केही साता बिताउने विचार गर्नुभयो। पिताजीले मलाई पनि साथ लिएर शिवपुरीको डाँडाको वाग्द्वार जानुभयो। शिवपुरीमा तीन साता बस्ने पिताजीको योजना थियो।
त्यो बेला वाग्द्वारमा श्री रामानन्द बह्मचारी बस्ने गर्नुहुन्थ्यो। उहाँसँग पिताजीको र मेरो चिनजान थियो। हामी साँझपख रामानन्द गिरीको वाग्द्वारस्थित आश्रममा पुग्यौं। हामीले सोचेको थियौं त्यहाँ उहाँ मात्र हुनुहोला। तर त्यहाँ तेजिलो अनुहार भएका अर्का एकजना सज्जन पनि भेटिनुभयो। उहाँसँग मेरो चिनजान थिएन। चिनजानका क्रममा थाहा भयो, उहाँ नारायण गिरी हुँनुहुँदो रहेछ। पिताजीसँग त उहाँको पहिला पनि परिचय भइसकेको रहेछ तर मैले भने उहाँलाई त्यहीँ नै पहिलोपटक साक्षात्कार गर्ने मौका पाएको थिएँ।
कुराकानीका क्रममा थाहा भयो उहाँको उमेर त्यस्तै ४५ जतिको थियो। तर उहाँको अनुहारको कान्ति हेर्दा उहाँ आफ्नो वास्तविक उमेरभन्दा धेरै नै कमको हुनुहुन्छ भन्ने भान पथ्र्यो। त्यतिखेर मेरो उमेर भने २० वर्षको थियो। उहाँसँगको पहिलो भेटमै मलाई आनन्दानुभूति भयो। उहाँको बोली पनि उत्तिकै शीतल। चाहिने कुरा मात्र, त्यो पनि कमै बोल्ने। बोल्नुपर्दा पनि मुसुक्क हाँसेर मात्र बोल्ने।
नित्यकर्मपश्चात् योगाभ्यासमा लागिरहनुहुन्थ्यो। अलिनो र सात्विक खाना मात्र खानुहुन्थ्यो।
उहाँको सामीप्यमा तीन साता शिवपुरीमा बस्दा समय बितेको पत्तै भएन। मेरो त्यो बेलाको केटौले उमेर भनौं कि के भनौं उहाँसँग रहँदा आनन्द त अनुभूत भएकै हो तर मैले उहाँसँग आध्यात्मिक विषयमा भने संवाद गर्न सकिनँ। उहाँको शिक्षा के हो बुझ्ने चेष्टा गरिनँ। उहाँ स्वाध्याय गर्नु, पिता–माताको तथा गुरुजनको सेवामा लाग्नु, नचाहिने गफ गरेर समय खेर नफाल्नु भन्ने प्रेरणा दिनुहुन्थ्यो।
तीन दशकपछिको भेट
तीन साताको बसाइपछि हामी उहाँहरुसँग बिदा भएर घर फर्कियौं। उहाँसँग भेटघाट हुन पाएन। समय आफ्नो रफ्तारमा कुदिरह्यो। संयोगले उहाँसँग फेरि भेट हुँदा दस वर्ष बितिसकेको रहेछ। दस वर्षै सही भेट त भयो। यस पटक भने उहाँसँग शिवपुरीको शिखरमा नभई आराध्यदेव पशुपतिनाथको मन्दिर सन्निकटमा रहेको बासुकी गुफामा भेट भयो। उहाँ गुफाको बार्दलीमा हुनुहुन्थ्यो। मैले उहाँलाई प्रमाण गरें। त्यहाँ उहाँसँग छोटो भेटघाटपछि फेरि मेरो सम्पर्क भएन। बासुकी गुफा बासुकी ब्रह्मचारीको समाधिस्थल हो। त्यस समय सो स्थलमा निजानन्द ब्रह्मचारी बस्ने गर्नुहुन्थ्यो।
पछि सुनियो उहाँ नारायणी नदीको तिर देवघाट धाममा बस्नुभएको छ। तर पनि भेटघाट हुने अवसर जुरेन। धेरै पछि २०५७ सालतिर बाबा नगरकोटको जालपा देवी मन्दिरमा बस्नुभएको खबर पाएपछि हामी उहाँको दर्शन गर्न त्यहाँ गयौं। हामी अर्थात् शिवपुरीबाबाका अनुयायी लक्ष्मीलाल, सिद्धिबहादुर र पत्नी सुशीला।
जालपमा देवी मन्दिरमा केही साता बसाइपछि बाबा शिवपुरी आश्रममा गई तपश्यारत हुनुभयो। उहाँ शिवपुरी बाबा आश्रममा झन्डै पाँच साताजति बस्नुभयो।
मेरो उहाँसँग झन्डै २७–२८ वर्षपछि भेट भएको थियो। त्यत्रो वर्षपछि उहाँलाई भेट्दा पनि उहाँको मुहारमा उस्तै कान्ति व्याप्त थियो। अनुहार आश्चर्यजनक लाग्ने गरी तेजिलो थियो। उहाँको उमेरले खुट्किलो पार गर्दै थियो तर उहाँको तेजमा कुनै कमी आएको थिएन बरु झ्नझन् तेज बढेझैं देखिन्थ्यो।
पछि उहाँ श्री बद्रीनाथभन्दा केही तल पाण्डुकेश्वरमा तपस्यारत हुनुहुन्छ भन्ने कुरा सत्संगप्रेमी मित्र शंकर घिमिरेद्वारा थाहा पाएको थिएँ। तिनताक म कामविशेषले केही समय दिल्लीमा थिएँ। नेपालबाट एक मित्रले बाबालाई एक भक्तले उपचारको सिलसिलामा हरियाणाको रेवाडीमा ल्याएका छन्, मौका मिले भेट्नुहोला भन्ने सन्देश दिए। मैले बाबा बस्नुभएको ठाउँ पत्ता लगाई भेट्न गएँ। उहाँ पक्षघातले थलिनुुभएको रहेछ।
डाक्टरले बाबालाई एलोप्याथी उपचार प्रणालीबाट उपचार गर्नका लागि एक्सरे, रगत, जाँच आदि गराएका रहेछन्। तर बाबालाई सो उपचार प्रणाली स्वीकार भएनछ। उहाँले हरियाणाकै एक वृद्ध वैद्यबाट आफ्नो उपचार चालू गर्नुभएको रहेछ। उपचाररत भए पनि यस भेटमा बाबामा पुरानै तेज देखें। करिब ४ महिनाको उपचाररपछि बाबा पुनः पाण्डुकेश्वर नै फर्कनुभयो।
वर्ष २०७० को माघको अन्त्यतिर बाबाको समाधिको खबरले हामी सपरिवार अत्यन्तै दुःखी भयौं। भेदअभेदबाट टाढा हुनुभएका, माया–मोह बिलाइसकेका, पाप–पुण्यबाट पर गइसक्नुभएका, सन्देहबाट मुक्त भइसक्नुभएका, द्वन्द्वबाट टाढा रहनुभएका, परमतत्त्व प्राप्तिको बाटोमा उहाँजस्तो महात्माका बारेमा केही शब्द लेख्न कोसिस गर्नु मलाई सुहाउने कुरा त होइन। तर पनि उहाँको बारेमा केही शब्द लेख्ने सौभाग्य भने परमात्माले मलाई दिनुभएकोमा शततः प्रणाम।
(तिमिल्सिनाको ‘स्वधर्म : शिवपुरी बाबाको उपदेशका केही थोपा’ पुस्तक प्रकाशित छ।)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४