आइतबार, साउन १७, २०८३

‘भिखारीले ४५ मिनेट कविता सुनाएर ३० हजार पाए’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी –  प्रति टिकटको मूल्य १ सय रुपैयाँ। बिक्री भएका टिकट संख्या ४५१।  उठेको रकम ४५ हजार १ सय।  यो आर्थिक गणित सुन्दा कुनै  एकल साङ्गीतिक साँझ वा कुनै मझौला कन्सर्ट जस्तो लाग्न सक्छ। तर, यो आँकडा हो शुक्रबार सम्पन्न इटहरीका कवि बद्री भिखारीको एकल कविता वाचनको। 

.....

जीवनमा पहिलोपटक टिकटमा कविता वाचन गर्ने प्रस्ताव आउँदा कवि भिखारीलाई अचम्म लाग्यो । आफ्नै गृहनगरमा हुने पैसामा कविता वाचन सुन्न को आउलान् र भन्ने पिर थियो भिखारीलाई। उनलाई नेपाल निजामती कर्मचारी सङ्गठन सुनसरीले यस्तो प्रस्ताव गरेको थियो। केही समय पहिले निजामती सेवाअवधि सकेर रिटायर्ड भएका भिखारीले प्रस्ताव त स्विकारे। तर, कार्यक्रम सफल हुने नहुनेमा उनीमा दुविधा थियो। 

शुक्रबार साढे तीन बजे सुरु हुने कार्यक्रमस्थल इटहरीको गोरखा डिपार्टमेन्ट स्टोर्सको सभाहलतर्फ जाँदैगर्दा भिखारीलाई दर्शककै पिर थियो। ‘आफैले साथीहरू बोलाउन पनि समस्या’, मोरङको टाँडिबाट आएका कवि गगन याक्पोङ्देनसँग  भिखारी भन्दै थिए, ‘ साथीहरुले टिकट राखेका छन्।’

टिकटमा कविता वाचन कार्यक्रमबारे भिखारीको दर्शक आउँछन्की नाई भन्ने चिन्ता हलमा पुग्नु अगाडिसम्म ज्यूँकात्यु थियो। ‘हैन कोही छैनन् त’, भिखारीले इटहरीका कवि देवान किराँती र नाट्यकर्मी सोनु जयन्तीसँग साढे तीन बज्न लाग्दा आइपुगेका एक दर्जन हाराहारी दर्शक देखाउँदै भने, ‘मान्छे आएनन् भने त बेइज्यतै हुन्छ यार, आफैले पनि बोलाइएन।’

भिखारीको चिन्तामा रमाइलो गर्दै कवि किराँतीले भने, ‘चिन्ता नलिनु दाइ एक दर्जन टिकट काटेर आएभने पुग्छ कविता सुनाउनलाई।’ 

.....

बस् ! तपाईँको सुरक्षाको लागि लाठी लानुस् ,बन्दुक लानुस्
तपाईं चिन्ता नलिनुस्
मात्र आराम गर्नुस् 
तपाईंका खोला नदीबाट हामी बिजुली निकालिदिन्छु
तपाईं बिजुली ताप्नुस् र हावा खानुस् !!

कवि भिखारीले यसरी ‘नागरिकता’ शीर्षक कविता सुनाए।

मामुली एउटा कागज न हो 
कागज हामी दिन्छु 
मसी हामी दिन्छु
सिर्फ मेरो मान्छेको नागरिकता दिनुस्।

कविता सुन्ने भारतीय सिमानामा जोडिएको सुनसरीका सिडियो प्रेमप्रकाश उप्रेतीसँगै अन्य नागरिकता फाँटमा बसेका थुप्रै कर्मचारी थिए। कर्मचारीहरुको ‘नागरिकता’ कविता सुन्दाको खासखुस हेर्न लायक थियो। 

भिखारीले ‘नागरिकता’ जस्तै ‘छ्या... काठमाण्डु’, ‘ऐना’, ‘साँची तपाइको छोरो भेट्नुभयो’ जस्ता गम्भीर विषयवस्तुमा लेखिएका कविता सुनाए।  केही रोमान्टिक कविताहरू पनि सुनाए। ४५ मिनेटमा १६ वटा कविता सुनाएका भिखारीले ‘तिमीले राम्रो भनेपछि’  शीर्षक कविता सुनाएर आफ्नो वाचनको विट मारे। 

.....

‘कवि बद्री भिखारीको कविता सुन्न आएको आजको संख्या निक्कै राम्रो लाग्यो’, कवि मनु मन्जीलले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘मैले इटहरीमा विगत २२ वर्षमा पहिलोचोटि यस्तो भिड देखे।’

मनु मन्जीलले भनेजस्तै कार्यक्रमका कुनै कुर्सीहरू खाली थिएनन्। एक दर्जन हाराहारी दर्शकले पछाडि कुनाबाट उभिएरै कविता सुने। कार्यक्रमका परिकल्पनाकार तथा  नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य प्रकाश राई भन्दै थिए, ‘हामीले छापेका ४५० वटा सबै टिकट सकिए। एक जना दर्शकले आएर टिकट बिना नै  सय रुपैयाँ तिरेर हेर्नुभयो।’

दर्शक संख्या बाक्लो भएपछि कविलाई ३० हजार रुपैयाँको ‘पारिश्रमिक’ कार्यक्रममै प्रदान गरियो। ‘हामीले  ४५ हजार  १ सयको टिकट बिक्री गरेका छौँ’, आयोजकले रकम हस्तान्तरण गर्दै भने, ‘कार्यक्रमको प्राविधिक र हलभाडा खर्च कटाएर उब्रिएको सबै रकम  कविलाई दिएका हौँ।’ 

भिखारीले एउटा कार्यक्रममा कविता वाचन गरेर ३० हजार पाउँदा कविहरूले उज्यालो अनुहार बनाए। कवि भिखारीलाई बधाई दिए। विराटनगरबाट आएकी कवि सीमा आभासले भनिन्, ‘एउटा कविता वाचनबाट ३० हजार पाउनु भनेको कुनै कुनै पुस्तकको रोयल्टी भन्दा धेरै हो।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।