आइतबार, साउन १७, २०८३

बर्डफ्लु देखिएपछि उच्च सतर्कता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

चितवन - छिमेकी जिल्ला मकवानपुरमा कुखुरामा बर्डफ्लु देखिएपछि चितवनमा उच्च सतर्कता अपनाइएको छ। पोल्ट्रीको राजधानी मानिने यस जिल्लामा भित्रने नाकाहरुमा पंक्षी जन्य वस्तु आयातमा कडाइ गरिएको छ भने कृषकलाई जैविक सुरक्षामा ध्यान दिन अनुरोध गरिएको छ।

भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका निमित्त प्रमुख डा पर्शुराम फुयालले यस जिल्ला हुँदै राजधानी र बाहिरी जिल्लामा कुखुरा जन्य पदार्थ धेरै आवतजावत गर्ने हुँदा क्वारेन्टाइनमा कडाइका साथ चेकजाँच थालिएको बताए। उनले भने, 'मकवानपुरमा बर्डफ्लु देखिएपछि जिल्ला छिर्ने नाकामा क्वारेन्टाइनलाई विशेष चेकजाँचका लागि निर्देशन दिइएको छ।' अहिले जिल्लाका १५० कुखुराका नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको उनले बताए। बर्डफ्लु संक्रमण हुन सक्ने देखिएकाले व्यवसायीलाई जैविक सुरक्षामा ख्याल गर्दै काम गर्न आग्रह गरिएको छ। जिल्लामा बर्डफ्लु भित्रने सम्भावना प्रवल रहेको बताउँदै फुयालले चाँडै जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समितिको बैठक राखेर सबैलाई यसको विषयमा जानकारी गराइने बताए।

राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंले हरेक हप्ता दुई दिन यहाँ नमूना सङ्कलन गरी केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाउने गरेको बताए। नियमित रुपमा नमूना सङ्कलन भई रहेको भए पनि हालसम्म ‘लो प्याथोजेनिक एच नाइन’ मात्र देखिएको उनले जानकारी दिए। देशका विभिन्न क्षेत्रबाट लो प्याथोजेनिक शंकास्पद देखिएमा यहाँ नमूना परीक्षण गर्ने गरिन्छ। थप शंका लागेमा यहाँबाट केन्द्रीय प्रयोगशालामा पठाइँदै आइएको छ। जिल्लामा लो प्याथोजेनिक अर्थात् एच नाइनका कारण धेरै कुखुरा मरे पनि हाई प्याथोजोनिक अर्थात् एच फाइभ भने नदेखिएको उनले बताए।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले मकवानपुरमा रोग देखिएसँगै देशभरका कृषकले जैविक सुरक्षामा विशेष ध्यान दिएको बताए। सङ्घले सदस्यलाई रोग भित्रन नदिन विशेष चनाखो हुन आग्रह गरेको उनले बताए। नेपालमा कुखुरा जन्य क्षेत्रमा रु एक खर्बभन्दा बढी लगानी भईसकेको भन्दै कँडेलले यो क्षेत्र एक मात्र आत्मनिर्भर उद्योग भएकाले स्वयं कृषक र सरकारले व्यवसाय बचाउन सहयोग गर्नुपर्ने बताए।

पोल्ट्री व्यवसायी मञ्चका कार्यकारी निर्देशक शिव बरालका अनुसार नेपालमा दैनिक ५० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेको छ। दैनिक ब्रोइलर मासु आठ लाख ५० हजार किलो उत्पादन हुने गर्दछ। बरालका अनुसार हप्तामा ब्रोइलर कुखुराको चल्ला २७ लाख र लेयर्सको चल्ला तीन लाख उत्पादन हुँदै आएको छ। देशको कुखुराजन्य पदार्थको आधा चितवनमा उत्पादन हुने गर्दछ। पोल्ट्री व्यवसायी मदन पोखरेलका अनुसार यो व्यवसायले एक लाख ८० हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ भने कूल ग्राहस्थ उत्पादनमा चार प्रतिशत योगदान पुर्‍याउँदै आएको छ। अण्डा उत्पादक सङ्घका केन्द्रीय सचिवसमेत रहेका पोखरेलले सबै कृषकलाई विशेष चनाखो भएर जैविक सुरक्षा विधि अपनाउन आग्रह गरिएको बताए। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।