काठमाडाैं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लुटेराहरु बालुवाटार र सिंहदरबार भित्रै रहेको बताएका छन्। करिब २ साता लामो मेची महाकाली स्वाभिमान यात्राको काठमाडौंमा शुक्रबार समापन गर्दै थापाले विभिन्न घटनाका आरोपिहरुलाई सरकार आफैले संरक्षण गरिरहेको आरोपसमेत लगाए। 'प्रधानमन्त्रीज्यूले विप्लवलाई लुटेरा समूह भन्नुभएको छ, उनी लुटेरा हुन् या होइनन् त्यो तपाई नै जान्नुस्', थापाले भने, 'एनसेल कर छली, वाइडबडी काण्ड र ३८ क्वीन्टल सुन तस्करीका घटनामा संलग्न लुटेराहरु बालुवाटार र सिंहदरबार वरपर नै घुमिरहेका छन् यिनीहरुलाई समाउनुस्। जनताले तपाईको जयजयकार गर्नेछ।'
थापाले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएको आरोप लगाउँदै एनसेल, वाइडबडी र सुन काण्डमा ठुला पार्टीकै ठुला नेताहरुको मिलेमतो रहेको दाबी गरे। 'लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएको छ। एनसेल ,वाइडबडी, ३८ क्वीन्टल सुन तस्करी काण्डमा ठुला पार्टीकै ठुला नेताको मिलेमतो छ। जसले गर्दा अपराधिहरु पत्ता लागेका छैनन्', थापाले भने, 'ओली भ्रष्टाचार गर्दिन भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्नुहुन्छ। म उहाँको भनाईमा अविश्वास गर्दिन तर यती भन्छु यदि तपाई त्यस्तो भन्नुहुन्छ भने यी काण्डका अभियुक्तहरुलाई पक्राउ गरेर देखाउनुस्।'
सिके राउतसँग सरकारले गरेको सहमति रहस्यमय भएकोमा थापाले आपत्ती जनाए। सरकारले विखण्डनको मुद्दा त्याग्ने समूहलाई सहमतिमा ल्याएको बताएपनि राउतसँग गरिएको सहमतिमा विखण्डनको मुद्दा त्यागेको कुरा स्पष्ट रुपमा उल्लेख नभएको उनले बताए। ‘सहमतिमा राष्ट्र विखण्डनकाे मुद्दा परित्याग गरिएको कुरा उल्लेख छैन, सिकेलेसमेत आफ्नो भाषणमा अब देश टुक्र्याउने कुरा गर्दिन भनेको छैनन्। विखण्डनको मुद्दा छोडेको भन्ने कुरा एक लाइनमा लेख्न सकिन्थ्यो किन सरकारले त्यस्तो गरेन', सरकारको व्यवहारमाथि शंका गर्दै उनले प्रश्न गरे।
गृहमन्त्रीले संसदमा राष्ट्रको अखण्डता, सार्वभौमिकताका विषयमा जनमतसंग्रह हुनै नसक्ने र त्यस्तो सहमतिसमेत नभएको बताइरहँदा सोही समयमा सिकेका कार्यकर्ताले उनको स्वागतका लागि जनकपु्र विमानस्थलमै विखण्डनको नारा लगाउनु र प्रहरी प्रशासनसमेत चुप बस्नुले सहमतिमाथि नै सन्देह र आशंका पैदा भएको थापाले बताए।
अभियानका क्रममा थुप्रै जनताको साथ तथा समर्थन रहेको बताउँदै उनले हिन्दु राष्ट्र र राजतन्त्रको मुद्दा राप्रपाले कहिल्यै नछोड्ने दाबी गरे। राप्रपाले आफ्ना ऐजेण्डाहरु कहिल्यै नछोडेका र ती संकल्प पुरा गराउन राजधानीवासीलाई उठाउन आवश्यक रहेको उनले बताए। उनले भने, 'काठमाडौं चिसो छ तात्न समय लाग्छ तर, जब तात्छ सिंगो मुलुक उठ्छ। हामी राधानीवासीलाई उठाउँछाैं र संकल्प पुरा गछौं।'
०६२/६३ को जनआन्दोलन संस्थागत गर्ने नाममा विदेशीको चलखेलमा धर्ममाथि आक्रमण गर्ने काम भएको बताउँदै उनले 'उक्त आन्दोलनमा के धर्म निरपेक्षताको आवाज उठेको थियो?' भन्दै प्रश्न गरे। विदेशीको दबाब र प्रभावमा परेर नेपालको पहिचान समाप्त पार्ने काम भएको बताउँदै अध्यक्ष थापाले अन्यायपूर्वक चुनाव हुनु अगावै हिन्दु राष्ट्र र राजतन्त्र नरहने व्यवस्था गरिनु जनभावना विपरित भएको बताए।
'जनआन्दोलन पछिको १२ वर्षमा के पायौं भन्ने कुरा छातीमा हात राखेर सोँच्न आग्रह गर्दै उनले नेपाली जनताले गरिबी र बेरोजगारी वाहेक केही नपाएको बताए। 'नेपाली जनतालाई रोजगारी दिन्छौं, दासताबाट मूक्त बनाउँछौं भनिएको छ। तर, मालिक बनाउँछौं भनिएको ठाउँमा अरबमा पसिना बगाउन लगाएर नौकर बनाइएको छ।', थापाले भने। वर्तमान सरकारले गर्दा नेपालीलाई हेर्ने विश्वको दृष्टिकोणमासमेत कस्तो प्रभाव परेको छ भन्ने कुरा भारतका एक सांसदले गरेको ट्विटबाटसमेत प्रष्ट हुने उनले बताए। भारतीय प्रधानमन्त्री मोदीले 'म देशको चौकीदार हुँ' भनेको कुरालाई लिएर भारतकै एक सांसदले 'हामीलाई प्रधानमन्त्री चाहिएको हो इमान्दार चौकीदार त नेपालबाटसमेत ल्याइन्छ।' भनेको कुराबाटसमेत अरुले हामीलाई हेर्ने दृष्टिकोण कस्तो रहेछ प्रष्ट हुने थापाले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४